सोलुखुम्बु ।
सोलु करिडोरका मजदुरले ५ महिनादेखि आफूहरुले पारिश्रमीक नपाएको बताएका छन् ।
करिडोर अन्तगर्तको उदयपुर कटारी क्षेत्रमा काम गरेका ४३ जना मजदुरले ५ महिनादेखि पारिश्रमीक नपाएको बताएका हुन् ।
करिडोरको ४३ नम्बर पोलमा काम गरेका उनीहरुले ७ लाख बढी पारिश्रमिक पाउन बाँकी रहेको बताएका छन् । कामदार कैलाश खड्काले आफ्नो मात्रै एक लाख २१ हजार रुपैँया बाँकी रहेको बताउनुभयो ।
पारिश्रमिक नपाउँदा दशै तिहार जस्ता चाड पर्व मनाउन समेत नपाएको मजदुरहरुको भनाइ छ । आफूले बगाएको पसिनाको मोल लिन आँसु बगाउनु परेको उनीहरुको दुखेसो छ ।
अहिले काम लगाउने पेटी ठेकेदारको मृत्यु भइसकेको छ । ४३ नम्बर करिडोरमा काम लगाएका पेटि ठेकेदार प्रकाश केसीको मृत्यु पछि आफूहरुको ज्याला पाउन झनै समस्या भएको कामदार खड्काले बताउनु भयो ।
यस विषयमा प्रहरीकोमा उजुरी गरिएको भए पनि न्याय पाउन नसकेको उनीहरुले बताएका छन् । प्रहरीले समेत ठेकेदारको मृत्यु पछि पारिश्रमिक पाउने आधार नभएको बताएपछि मजदुर निराश बनेका छन् ।
श्रम गरेर गुजारा चलाउनु पर्ने आफूहरुले पारिश्रमिक नपाउँदा दैनिकी चलाउन समस्या भएको अर्का मजदुर टेकप्रसाद खनालले बताउनुभयो ।
यता सगरमाथा निर्माण कम्पनीका पेटि ठेकेदार सुरेन्द्र ढकालले श्रमिकहरु सम्पर्कमै नआएको बताउनु भएको छ । उक्त निर्माणको जिम्मा ढकालबाट मृतक केसीले लिएको बताइएको छ ।
निर्माणको काम एक पछि अर्को हँदै तीन जना ठेकेदारकोमा पुगेकाले मजदुर पीडित बन्न पुगेका हुन् ।
मृतक प्रकाशले निर्माण कम्पनीबाट १७ लाख २० हजार रकम बुझिसकेको ढकालले बताउनुभयो । केसीले रकम बुझेपनि मजदुरसम्म पुग्न नसकेको ढकालको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६, १२:३२