सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको नेकपा सचिवालयको बैठकले सापकोटालाइ सभामुख बनाउने निर्णय गरेको हो ।
यसअघि आज नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । दुइ अध्यक्षबीचमा भएको यस्तो सहमतिलाइ नेकपा सचिवालयले स्वीकार गरेको सचिवालय सदस्य झलना खनालले सीआईएनलाइ जानकारी दिनुभयो । संसद सचिवालयका एक महिला कर्मचारीलाइ बलात्कार प्रयासको आरोप लागेपछि गत असोज १४ गते पुर्व सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएसंगै सभामुख पद रित्त छ ।
उपसभामुख डा. शिबमायाँ तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गर्दै आउनुभएको बेला नेकपाले सापकोटाको नाम अगाडी सारेको हो । पार्टीले एक मतले गरेको निर्णयलाइ सबैले मान्नुपर्ने नेता खनालले बताउनुभयो । सीआईएनसंग कुरा गर्दै नेता खनालले तुम्बाहाङ्फेले पनि यस बिषयमा सहमति जनाउने विश्वास व्यक्त गर्दै उहाँलाइ आगामी दिनमा पनि पार्टीले स्थान दिने बताउनुभयो ।
सभामुखका लागि सिफारिस सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएर हाल प्रतिनिधसभा सांसद हुनुहुन्छ ।
शिक्षण पेसा पृष्ठभूमिबाट आउनुभएका सापकोटा २०३५ सालबाट राजनीतिमा सक्रिय हुनुहुन्छ । सापकोटा यसअघि पनि २०६४ र २०७० को संविधानसभा निर्वाचनमा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो ।
प्रतिनिधिसभा बैठक भोली बस्दै छ । भोलीको बैठकबाटै सभामुख चयनको प्रक्रिया अगाडी बढ्ने छ ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६, १९:१७