काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकलाई संवोधन गर्दै तुम्बाहाङफेले राजीनामाको घोषणा गर्नुभएको हो ।
‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’ संसदलाई सम्वोधन गर्दै तुम्बाहाङफेले भन्नुभयो ।
देशले उपयुक्त निकास पाउनु पर्छ भनेर आफूले सबैको ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्दै उहाँले उपसभामुख पद खाली राखेर जान सक्दैन भन्ने मान्यताका आधारमा आफूले दलहरुलाई उम्मेदवार तोक्न भनेको धारणा राख्नुभयो ।
‘समावेशी लोकतन्त्र हाम्रो संविधानको आधारभूत मान्यता मात्र होइन, यसलाई अभ्यास र वचनबाट पनि लागु हुनुपर्दछ।,’ तुम्बाहाङ्फेले भन्नुभयो, ‘संविधान निर्माणमा अगुवाई गर्ने राजनीतिक दल र नेतृत्व वर्ग यही विषयमा अडिक रहनुहुन्छ भन्ने मेरो विश्वास छ।’
उपसभामुखको रुपमा रहँदा र सभामुख रिक्त रहँदा आफूले धेरै प्रतिक्रिया पाएको भन्दै समयले वस्तुनिष्ठ मूल्याङ्कन गर्ने टिप्पणी पनि गर्नुभयो ।
आफूले सभामुखको पदमा रहँदा दलको निर्देशनमा नभई संविधानअनुसार काम गरेको दाबी गर्दै यो अवसर दिने सबैलाई धन्यवाद दिँदै तुम्बाहाङफेले भन्नुभयो‘कसैले पनि आफ्ना जरा र धरातल बिर्सन हुदैन,मैले बहुमत दलको निर्णयलाई सहजीकरण गर्न जरुरी ठानेर यो निर्णय गरेकी हुँ।’
भिडियो हेर्नुहोस्ः
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६, १३:५२