काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताले आफ्ना छोराछोरीलाई तँ भनेर बोलाउन नपाउने गरी पार्टीले आचारसंहिता जारी गरेको छ ।
नेकपाले जारी गरेको ११ बुँदे आचारसंहितामा घरपरिवारदेखि समसामयिक विषयमा के कसरी विचार निर्माण गर्ने भनेर सिकाइएको छ ।
सङ्गठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचार संहिता केन्द्रीय सचिवालयले पारिता गरेपछि मुलुकभर परिपत्र गरिएको छ।
आचारसंहिताको बुँदा नम्बर २ मा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख छ। कसैलाई तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने उक्त बुँदामा उल्लेख छ।
‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्ने आचारसंहितामा उल्लेख छ।
पार्टी सदस्यहरूले बेला बेलाबेलामा आफ्नो परिवारका सदस्यको बैठक बसालेर सबैलाई सल्लाह सुझाव दिनु पर्ने पनि आचारसंहितामा भनिएको छ ।
'१६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ। कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ। परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ।’ आचारसंहितामा भनिएको छ ।
छोराछोरीको बिहे मितव्ययी बनाउनु पर्ने पनि सोही बुँदामा उल्लेख छ।
आचारसंहिताको १ नम्बर बुँदामा पार्टी सदस्यहरूले आफ्नो कमाइबाट राज्यलाई कर तिर्न, जीवन निर्वाह गर्न र पार्टीलाई नियमित लेबी बुझाउन निर्देशन दिइएको छ ।
समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरूद्ध सधैं खडा हुन संहितामा सदस्यहरूलाई भनिएको छ। घरेलु श्रमिक नराख्न, पाँचवर्ष पुगेका बालबालिकालाई अनिवार्य स्कुल पठाउन समेत नेकपाले आचारसंहितामार्फत भनेको छ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६, १५:४६