सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो कार्यक्रम’ सुरु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यान्वयन ईकाई स्थापना गर्ने र प्राविधिक सहयोग वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलव्ध गराउने केन्द्रका कार्यक्रम संयोजक दीपक पौड्यालले जानकारी दिनुभयो ।
कार्यक्रम कार्यान्वयनको पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पूरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ ।
ती आयोजना सम्पन्न गर्न प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमबाट बजेट व्यवस्था गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेतले वताउनुभयो ।
मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीका ग्रामीण क्षेत्रमा राष्ट्रिय विद्युत प्रसारण लाईन विस्तार गर्न केही समय लाग्ने भएकोले लघु तथा साना जलविद्युत आयोजनाको निर्माण आवश्यक रहेको धारणा राख्नुभयो ।
मुख्यमन्त्री शाहीले यसअघि राज्यको करोडौँ बजेट लगानी भएका तथा केही आर्थिक तथा प्राविधिक सहयोगको अभावमा निर्माण हुन नसकेका आयोजनामा लगानी गर्दा राज्यले गरेको लगानी खेर नजाने र जनताले पनि छिटो उज्यालो पाउने भएकाले प्रदेश सरकार त्यस्ता आयोजनामा लगानी गर्न तयार भएको जानकारी दिनुभयो ।
कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि ५० करोड ९ लाख वजेट विनियोजन भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका लेखाअधिकृत विनोद प्रधानले जानकारी दिनुभयो । कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधिसमेत स्वीकृत भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६, १५:४४