काठमाडौँ । सङ्घीय संसदकाे सभामुखका लागि सत्तारुढ नेकपाका नेता अग्नी सापकोटाको मात्र उम्मेदवारी परेको छ । संसद सचिवालयले सभामुखको उम्मेद्वारीका लागि तोकेको समयाविधमा सापकोटाको मात्रै उम्मेदवारी परेको हो ।
संसद सचिवालयले उम्मेद्वारी दर्ताका लागि आज बिहान ११ देखि २ बजेसम्मको समय दिएको थियो । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार निर्धारित समयमा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि सापकोटा नै सभामुख बन्ने निश्चित भएको छ ।
यसको औपचारिक घोषणा भने यही माघ १२ गते बस्ने संसद् बैठकबाट हुनेछ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ मा राजीनामा दिएपछि सभामुख पद रिक्त छ । गत आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।
त्यसअघि तत्कालनीन एमाले वा माओवादी कुन पक्षबाट सभामुख बनाउने भन्ने बारेमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच कुरा मिल्न सकेको थिएन ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६, १६:२०