काठमाडौँ । धादिङ र मकवानपुरमा भएका दुई छुट्टाछुट्टै घटनामा १४ जनाको मृत्यु भएको छ । रेडियो धादिङका अर्जुन श्रेष्ठकाअनुसार धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
घटनामा १९ जनाभन्दा धेरै यात्रु घाइते छन् । घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । केहीलाई काठमाडौं लैजाने तयारी भईरहेको छ ।
ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर निलकण्ठ नगरपालिका २ को भुलभुले आउँदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख ८०१२ नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूको सनाखत भइनसकेको प्रहरीले बताएको छ । ट्रकमा करिब ४५ जना चढेका अनुमान गरिएको छ ।
यसैबीच मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा भारत केरेलाका ३८ वर्षका रन्जित कप, ३४ वर्षका इन्द्र कप, ३७ वर्षका प्रवीण, ३२ वर्षका सरिया, ५ वर्षका अभी, ७ वर्षका अर्चना, ५ वर्षका बैष्णब र ९ वर्षका बन्द्रा रहेका छन् ।
आज बिहान अचेत अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो । आज बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै हेलिकोप्टरमार्फत उपचारका लागि ह्याम्स अस्पताल ल्याईएको थियो ।
प्रहरीका अनुसार १५ जनाको समूहमा अघिल्लो हप्ता घुम्नका लागि भन्दै उनीहरु नेपाल आइपुगेका थिए । पोखरा लगायतका ठाउँहरुको भ्रमण गरेपछि हिजो साँझ मात्रै उनीहरु दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगेका थिए । रिसोर्टमा सुत्दा उनीहरुले ग्यास हिटर प्रयोग गरेका थिए ।
कोठाका सबै झ्याल र ढोकाहरु बन्द गरी ग्यास हिटर बालेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृत्युको यकीन कारण पोस्टमार्टम पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६, १७:३९