काठमाडौं ।
७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख र वडाध्यक्षसहित कार्यकारी पदमा ७ सय ७८ महिलाले नेतृत्व गरिरहेका छन् । १४ हजार तीन सय आठ महिला जनप्रतिनिधिका रुपमा स्थानीय सरकारमा चुनिएका छन् ।
कानुनको व्यवस्था अनुसार सबै दलले स्थानीय तहमा महिलालाई उपाध्यक्ष र उपप्रमुखमा सिमित बनाए । प्रदेश २ को ८ जिल्लाका एकसय ३६ स्थानीय तहमध्ये ९० प्रतिशत स्थानीय तहमा उपप्रमुख र उपाध्यक्ष महिला नै हुनुहुन्छ । तर काम भने श्रीमानले गर्छन् ।
महोत्तरीको जलेश्वर नगरपालिकाका उपमेयर मुनचुन देवीलाई एउटा काम विषेशले मैले टेलिफोन गरें । फोन उठाउनुभयो पुरुषले । उपमेयरसँग कुराकानी गर्नुपर्ने विषय जानकारी गराएँ ।
‘मैले बोले पनि उसले बोले पनि कुरा उही हो’ – प्रमुख सल्लाहकारको भूमिकामा रहनु भएका श्रीमानले गर्वका साथ जवाफ फर्काउनुभयो ।
मैले उपमेयरसँगै कुराकानी गर्ने अडान लिएपछि उपमेयर मुनचुन देवीका श्रीमान विश्वेश्वर महतोले उपमेयरको सबै काम आफैंले गर्ने भएकाले आफैंलाई भन्न आग्रह गर्नुभयो ।
महतोले भन्नुभयो, ‘उहाँको न्यायीक समितिको सबै कागजात मैले नै हेरिरहेको छु । नगरपालिकालको पुरै काज नै भनौं न ।’
मिडियाबाट हो भन्ने थाहा पाएपछि भने महतोले पूरा कुरा खोल्न चाहानुभएन र भन्नुभयो, ‘साइन गर्ने उहाँ नै, अध्यक्षता गर्ने उहाँ नै, भाषणभुषण गर्ने उहाँ नै, मरो त खाली एउटा सहयोग मात्रै हो । सुरुदेखि नै यसरी सहयोग गर्दै आएको छु । ’
नेपाली बुझ्ने तर बोल्न नसक्ने समस्याका कारण छाँया उपमेयरको काम श्रीमानले गर्नुहुन्छ । सर्लाहीको मलङ्गवा नगरपालिकाका उपप्रमुख शवनम मिकरानी पनि श्रीमानको सल्लाह विना कुनै निर्णय लिनुहुन्न ।
सर्लाहीको रामनगर गाउँपालिकाका उपाध्यक्ष नितुदेवी यादव कार्यालय होस् या जहाँसुकै तालिममा पुग्दा, भतिजा र श्रीमानका साथी मुख्य सहयोगी हुन् ।
बाराको पचरौता नगरपालिकाका उपप्रमुख इन्दुकुमारी यादवको सबै काम श्रीमान विनोदले गरिदिनु हुन्छ । उपप्रमुख यादवले बैठकमा श्रीमानलाई राख्नुपर्ने अडान नछाडेपछि लामो समय नगर बैठक नै स्थगित भएको थियो । अहिले सहयोगीका रुपमा गाउँकै पुरुष आफन्तलाई राखिएको छ ।
उपप्रमुख र उपाध्यक्ष कुनै कार्यक्रममा गएपछि भत्ता बुझ्न श्रीमान पुग्छन् । उपप्रमुख बैठकमा हुँदा हलबाहिर श्रीमानहरुको ठूलो भिड नै जम्मा भएर गफिने गरेको देखिन्छ । कतिपय कार्यक्रममा अतिथि उपप्रमुख, भाषण गर्ने श्रीमान भएको रोचक दृश्य पनि देखिने गर्छ ।
महोत्तरीको महोत्तरी गाउँपालिकाका उपाध्यक्ष सीतादेवी साहलाई भने देवर चन्देश्वर साहकै भर छ । चन्देश्वरले भन्नुभयो, ‘उहाँलाई नेपाली भाषा बुझ्न र बोल्न अलि समस्या हुन्छ, त्यसैले फोन म नै उठाउँछु । मलाई नै भन्नुभए पनि हुन्छ, के विषयमा कुरा गर्नुछ ?’
देशका ७ सय ५३ स्थानीय तहमध्ये प्रदेश २ का ८ जिल्लामा एउटा महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरि एकसय ३६ स्थानीय तह छन् । दर्जभन्दा बढी जिम्मेवारीको नेतृत्व लिएका धेरै स्थानीय सरकारका उपप्रमुखले श्रीमानको निर्देशनमा काम गरिरहेका छन् ।
भाषा कमजोर हुनु, महिला एक्लै हिँड्नु हुँदैन भन्ने सोंच त छदैंछ । राजनीतिमा सक्रिय श्रीमानका कारण चुनावमा टिकट पाउने श्रीमति श्रीमान अनुसार चल्नुपर्ने बाध्यता पनि छ ।
प्रदेश २ का एकसय ३६ स्थानीय तहमध्ये कति स्थानीय तहका उपाध्यक्ष र उपमेयरले भाषाकै कारण आफ्नो कामै आफैं गर्न पाइरहेका छैनन्, भनेर कुनै अध्ययन भएको छैन ।
नेपाली भाषा बुझ्न अनि बोल्न नसक्ने उप प्रमुखहरुका विषयमा केन्द्र सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ सबैलाई जानकारी त छ, तर यसले उनीहरुलाई कति अप्ठ्यारो बनाइरहेको छ ? भन्ने विषयमा अध्ययन भने गरेका छैनन् ।
संघीय सरकारले संघीय मामिला मन्त्रालय मार्फत् प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तरगत स्थानीय तहको क्षमता विकासको लागि काम गरिरहेको छ ।
तर आवश्यकता फारममा एकसय ३६ स्थानीय तहमध्ये कुनैले पनि भाषाका कारण अप्ठ्यारो भोग्नुपरेको विषय लेखेका छैनन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६, ०८:५२