काठमाडौं । संसदको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा मतदान सुरु भएको छ । १८ सदस्यको निर्वाचनका लागि ६ दलका ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछ ।
अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ सदस्यको दुई वर्षे कार्यकाल फागुन २० गते सकिनेछ । निर्वाचन आयोगले सबै तयारी पुरा भएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात प्रदेशका उच्च अदालत रहेका सातवटा स्थानमा मतदान स्थल तोकेको जानकारी सीआईएनलाई दिनुभयो ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्न पाउनेछन । निर्वाचन आयोगका अनुसार सातवटा प्रदेशका ५ सय ५० जना प्रदेश सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका पदाधिकारी गरी २ हजार ५६ जना मतदाता छन् ।
निर्वाचन हुन लागेको १८ स्थानमध्ये सत्ताधारी नेकपाको १६ स्थानमा जित सुनिश्चित देखिएको छ । आयोगका अनुसार मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान स्थल तोकिएका छन् ।
प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीले मत दिन पाउने भएपनि मतभार भने फरक हुनेछ। प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ ।
कहाँ–कहाँ हुँदैछ मतदान ?
प्रदेश १ को बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ। उक्त केन्द्रमा यस केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २ सय ८४ गरी ३ सय ६७ मतदाता छन्। प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवनमा मतदान स्थल तोकिएको छ।
प्रदेश २ मा १ सय ७ प्रदेशसभा सदस्य र २ सय ७२ स्थानीय तहका गरी ३ सय ७९ जना मतदाता छन्। बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ। प्रदेश सभा सदस्यतर्फ १ सय १० र स्थानीय तह सदस्यतर्फ २ सय ३८ गरी ३ सय ४८ जना मतदाता छन्।
गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ १ सय ७० गरी २ सय ३० जना मतदाता रहेका छन्।
प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २ सय १८ गरी ३ सय ५ जना मतदाता छन्।
कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ४० र स्थानीय तह सदस्यतर्फ १ सय ५८ गरी १ सय ९८ जना मतदाता छन्।
सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १ सय ७६ गरी २ सय २९ जना मतदाता रहेका छन्।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६, १०:१९