काठमाडौं ।
नेपालमा ६७ प्रतिशत नागरिक कृषिमा आश्रित रहेको कृषि विभागको तथ्यांक छ ।
किसानलाई सहज बनाउन सरकारले विभिन्न नीति र कार्यक्रमहरू बनाउने गरेको छ । तर पनि किसानको पेशा र जीवन आधार नै संकटमा परेको छ ।
सर्लाहीका चन्द्रिका राउतले आफ्नो बारीमा आलु, बेसार, मकै लगायतका बाली लगाउनुभएको छ । स्थानीय तहमा आएका कृषिका कुनै पनि अनुदान उहाँले अहिलेसम्म पाउनु भएको छैन ।
उहाँले भन्नुभयो, ‘खेती गर्नलाई कति पैसा आएको छ, अरु विकासलाई कति पैसा आएको छ, हामीले केही थाहा पाउँदैनौं ।’
रसुवाका किसान तिलक थापा बर्षौदेखि काउली, बोडी, प्याजको खेती गर्नुहुन्छ । मूल्यमा उहाँ सधै ठगिनु हुन्छ ।
विचौलियाको मनपरी सुनाउँदै थापाले भन्नुभयो, ‘काउली छ, यो भाउमा दिने भा देऊ नत्र लिंदैनौं भन्छ पसलेले । अब बेच्न ल्याएको सामान फर्काएर लैजाने कुरा त हुँदैन, उसले जति भन्छ त्यति भाउमा दिनुपर्छ । उसको भाउमा हामी दिन्छौं अनि उसको भाउमा बजारमा बिक्रि हुन्छ ।’
बाजुराका हितमान वलीले बेच्ने बजार पनि पाउनु भएको छैन । वली भन्नुहुन्छ, ‘ज्याला महङ्गो छ, आफैंले मात्रै गर्न सकिंदैन । तरकारी बेचेर त्यसको लागत पनि उठ्दैन ।’
किसानले भनेको समयमा मल, विउविजन पाउँदैनन् । अनुदान, सेवा सुविधा पहुँच वालाले लिन्छन् । उब्जाएको कृषि उपजले सहजै बजार पाउँदैन, बजार भेटिएपनि विचौलियाले मूल्य खाइदिन्छ ।
किसानले भोग्नुपर्ने हैरानीको चाङ निकै ठूलो छ । तीनै तहका सरकारले किसानका लागि भनेर विभिन्न कार्यक्रम घोषणा गरेका छन् । नीति/नियम बनाएका छन् ।
सरकारका हरेक योजना र कार्यक्रममा किसानको जीवन उकास्ने विषय नछुटे पनि व्यवहारमा नदेखिंदा खेती किसानी पेशा अभिशाप जस्तै बनेको छ ।
नेपाली किसान पेशाबाटै पलायन हुनुपर्ने गम्भीर मोडमा पुगेकाले नेपाल किसान मर्ने देशका रुपमा परिचित हुन थालेको विज्ञहरुको तर्क छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६, १०:५५