अछाम । मुलुकी अपराध संहिता जारी भएको करिब डेढ वर्षमा पहिलो पटक छाउपडी विरुद्ध अदालतले कारबाही सुनाएको छ ।
छाउगोठमा बसिरहेको अवस्थामा मृत्यु भएकी अछामको साँफेबगर नगरपालिका ३ डिग्रेनीका पार्बती बुढा रावतका जेठाजुलाई जिल्ला अदालत अछामले ४५ दिन कैद सजायको फैसला सुनाएको हो ।
मृतक पार्बतीका जेठाजु छत्र रावतलाई मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ४ बमोजिम ४५ दिन कैद फैसला गरिएको हो । गत मंसिर १५ गतेराती पार्बतीको छाउगोठमा मृत्युभएपछि उहाँका जेठाजु रावतलाई चार दिनपछि १९ गते प्रहरीले पक्राउगरी मुद्दा चलाएको थियो ।
यस बारेमा हिजो सुनुवाइ गरी सजाय सुनाइएको जिल्ला न्यायाधिस नवीन कुमार जोशीले बताउनुभयो।
पक्राउ परेका रावतलाई यसअघि जिल्ला अदालतमा भएको थुनछेक बहसपछि हिरासत बाहिरै बसेर अनुसन्धानमा सहयोग गर्ने कबुलमा पक्राउ परेको २५ दिनपछि १५ हजार घरौटीमा रिहा गरिएको थियो ।
राउतले थप २० दिन जेल बस्नुपर्ने थियो तर फौजदारी कार्यविधि संहिताको एकवर्षभन्दा कम कैद सजाए पाउनेहरुको हकमा नगद जरीवाना तिरेर कारागार बस्न नपर्ने व्यवस्था अनुसार उनी घर फर्किएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी दीपक भारतीले बताउनुभयो ।
मुलुकी अपराधसंहिता जारी भएयता छाउबार्ने चलनका कारण महिलाको मृत्युभएको मुद्दामा कानुनी सजाय भोग्ने रावत पहिलो व्यक्ति हुन् । नेपालमा यसअघि छाउबार्ने चलनसँग जोडिएर कुनैपनिखाले मुद्वा परेको थिएन । यो मुद्दाले समाजमा व्याप्त कुप्रथाविरुद्ध नयाँ सन्देश गएको अधिकारकर्मी पशुपति कुवँरको भनाइ छ ।
सूदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महिनावारी हुँदा छाउगोठमा बसेकै कारण महिला तथा किशोरीहरुको मृत्युहुनेक्रम नरोकिँदा सरकारले कानुन कार्यान्वयनमा कडाइ गरेको छ । छाउगोठमा बसेकै कारण अछाममा हालसम्म १४ जना किशोरी तथा महिलाको मृत्यु भइसकेको छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६, ०७:३२