काठमाडौँ । नयाँ सभामुख निर्वाचित गर्न आज बसेको संसद बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको छ ।
बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको एकल उमेदवारी भएकाले प्रतिनिधि सभा नियमावली २०७५ को ७ (३) बमोजिम सापकोटा निर्विरोध निवार्वाचित भएको घोषणा गर्नुभयो ।
बैठकको सुरुमा सापकोटालाई सभामुख बनाउन प्रस्तावक रहनुभएका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव पेश गर्नुभएको थियो । त्यसपछि सापकोटाका समर्थक देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्नुभएको थियो ।
नवनिर्वाचित सभामुख सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट गर्नुभयो । आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिनुभयो ।
सर्वोच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा भने उहाँले कुनै प्रतिक्रिया दिनुभएन । निर्वाचित भएपछि सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, मधेसवादी दलका नेताहरुसँग सङ्घीय संसदभित्र धन्यवाद ज्ञापन र बधाई तथा शुभकामना गरेको दृश्य भने हेर्नलायक थियो ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६, १९:१७