काठमाडौँ । चीनमा फैलिएको नोवेल कोरोना भाइरस एक महिना नबित्दै नेपालमा पनि देखियो । गत डिसेम्बरमा फेला परेको नायाँ प्रजातिको भाइरसका कारण नेपालमा चीनबाट फर्केका एक नेपाली युवामा पोजेटिभ देखिएको थियो ।
पछिल्लो दस वर्षयता विश्वमा नयाँ खालका सरुवा रोग देखा परिरहेका छन् । जसका कारण सयौँ मानिसको मृत्यु हुनुका साथै हजारौँ मानिस प्रभावित भइरहेका छन् । मानिसबाट मानिस वा जनावरबाट मानिसमा सर्ने रोग नेपाल जस्ता अल्पविकसित देशहरूामा चाँडै भित्रिने गरेको पाइन्छ ।
अन्य मुलुकको भन्दा नेपालमा सरुवा रोगको प्रकोप चाँडै फैलिने सम्भावना उच्च रहने गरेको सरोकारवालाहरू बताउँछन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.केदार सेञ्चुरीका अनुसार बढ्दो विश्व व्यापीकरणका कारण नेपालमा सरुवा रोग चाँडै भित्रिने गरेको छ ।
नेपालबाट बाह्य देशमा अध्ययन र व्यवसायका उद्देश्यले आवतजावत गर्ने व्यक्तिहरू नेपाल आउँदा ती देशमा भएका रोगहरू नेपाल भित्रिने जोखिम हुने गरेको उहाँको भनाइ छ ।
डा.सेञ्चुरीले नेपालमा अन्य मुलुकको तुलनामा स्वास्थ्य जाँच सम्बन्धी कुनै पूर्व तयारी नहुँदा र कमजोर स्वास्थ्य प्रणालीका कारण विमानस्थलबाट र अन्य नाकाबाट नेपाल भित्रिने मानिसबाट नेपालमा जुनसुकै रोग फैलने जो्खिम रहेको बताउनुभयो ।
डेङ्गु, स्क्रबटाइफस, रुघाखोकी, स्वाइनफुलू, झाडापखाला, टाइफाइडलगायत अन्य सरुवा रोगहरू दुषित हावापानी, दिसापिसाब, सरसफाइमा ध्यान नदिँदा र स्वास्थ्यमा देखिएको समस्यालाई बेवास्ता गर्दा सर्ने सम्भावना बढी हुन्छ । तर, बाह्य देशमा देखिएका सरुवा रोगहरू पछिल्लो समय नेपालमा पनि भित्रिने क्रम बढेको छ ।
विदेशी मुलुकहरूमा देखिएका निपाह भाइरस, जिका, इबोला, सार्स, मर्स जस्ता भाइरसहरू नेपालमा नभए पनि भित्रिने सम्भावना अझैँ कायमै छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार निकै नै खतरनाक रूपमा रहेका यी भाइरसहरू अन्य मुलुकमा फैलिन नदिनका लागि विभिन्न संयन्त्र अपनाइएको छ ।
तर, नेपालमा यस्ता रोगहरू कुनै पनि बेला भित्रिन सक्ने जोखिम रहेको पूर्व स्वास्थ्य सचिव डा. दीर्घसिंह बमको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘नेपाल सरकारले पहिले नै विमानस्थल र अन्य नाकामा उच्च प्रविधियुक्त स्वास्थ्य जाँचका लागि केन्द्र स्थापना गर्ने हो भने यस्ता रोग भित्रिने सम्भावना कम हुन्छ ।’
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१७ मा निमोनिया र इन्फ्लूएन्जाका कारण झन्डै ६० हजार मानिसको मृृृत्यु भएको थियो भने सन् २०१५ मा लामखुट्टेले सार्ने रोगका कारण ४४ हजार मानिसको मृत्यु भएको थियो । सन् २०१४ देखि २०१६ सम्म इबोलाका कारण ११ हजार ३ सय मानिसको मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६, १४:३०