काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएकामध्ये बाँकी तीनजनाको शव पनि सुकेटार विमानस्थल ल्याइएको छ । रेडियो तमोरका अनुसार अहिले बिहान ७ः४२ मिनेटमा सेनाको हेलिकप्टरबाट बाँकी शव ल्याइएको हो । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातमध्ये चार शव हिजै सुकेटार विमानस्थल ल्याइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो ।
रेडियो ताप्लेजुङका अनुसार नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार खराब मौसमका कारण अन्य तीन शव हिजो ल्याउन सकिएको थिएन । एयर डाइनेस्टीको एएस ३५० हेलिकप्टर हिजो दिउँसो साढे एकबजे दुर्घटनामा परेको हो ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थलको अवलोकन गरेर पाथीभरा गएको हेलिकप्टर हिजो दिउँसो १२ बजेर ५५ मिनेटमा पाथीभरा मन्दिर नजिकै अवतरण गरेको थियो । मन्त्रीसहितको टोली हेलिकप्टरबाट झर्दा मन्दिर क्षेत्रमा बाक्लो हिमपात भइरहेको थियो । हिमपातकैबीच पाथीभरा मन्दिरको दर्शन र पूजा पनि गरेर साढे १ बजे टोली फर्किको मन्दिरका मुख्य पुजारी डिल्ली आचार्यको भनाइ छ ।
त्यसलगत्तै फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा हेलिकप्टर दुर्घटना भएको हो । मन्त्री अधिकारी र उहाँका पिएसओको शवको पहिचान भएपनि अन्यको भने हुन सकेको छैन । सबै शव आजै काठमाडौं ल्याउने तयारी छ ।
ताप्लेजुङमा १३ वर्षकोबीचमा दुईवटा ठूला हेलिकप्टर दुर्घटना भएका छन् । २०६३ साल असोज ७ गते लेलेपको फलेमा भएको हेलिकप्टर दुर्घटनाको झल्को दिनेगरी हिजो अर्को दुःखद् दुर्घटना भएको हो । १३ वर्षअघि भएको उक्त दुर्घटनामा तत्कालिक वन राज्यमन्त्री गोपाल राई र उहाँकी पत्नी मीना राईसहित २४ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५, ०८:२८