काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी उजुरीमा पीडितलाई सजिलै र चाँडै न्याय दिनका लागि मेलमिलापको माध्यममबाट विवाद निरुपण गर्न सुरु गरिएको छ । वैदेशिक रोजगार विभागले मेलमिलाप गराउनका लागि ५२ जना मेलमिलापकर्ता सूचिकरण गरी मेलमिलाप गराउन सुरु गरेको हो ।
सूचिकृत भएका ५२ जना मेलमिलापकर्ताले विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालबाट हिजो शपथ लिएसँगै मेलमिलाप गराउने प्रक्रियाको सुरुवात भएको हो । यसअघि वैदेशिक रोजगार विभागले मेलमिलाप समिति गठन सम्बन्धी आन्तरिक कार्यविधि २०७३ बनाएर मेलमिलाप गराउँदै आएको थियो ।
अब मेलमिलाप केन्द्रमै वैदेशिक रोजगारीका क्रममा भएका गम्भीर प्रकृतिका अपराध बाहेकका मुमा मिलाइनेछ । मुलुकी फौजदारी कार्यविधिले मिलापत्र गर्ने व्यवस्था गरेपछि बैदेशिक रोजगार ऐन २०६४ को पछिल्लो संशोधनमा मिलापत्रको व्यवस्था गरिएको छ ।
यसलाई कार्यान्वयन गर्न महान्याधिवक्ताको कार्यालयले विभागलाई सहजीकरण गरेको महान्याधिवक्ताको कार्यालयका नायव महान्यायधिवक्ता पदम पाण्डेले बताउनुभयो ।
मेलमिलाप परिषद्का अध्यक्षसमेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाले वैदेशिक रोजगारका उजुरी मध्य ७५ प्रतिशत मेलमिलापबाटै टुङ्गिनसक्ने दाबी गर्नुभयो । वैदेशिक रोजगार विभागले अहिले पनि दैनिक कम्तीमा चारवटा संस्थागत मुद्दा फस्र्यौट गर्दै आएको छ ।
विभागमा थोरै जनशक्तिका बीच काम भइरहेको बेला मेलमिलापकर्ता जोडिएपछि अब भने उजुरीको फरफारकमा तीब्रता आउने विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालको अपेक्षा छ ।
विभागले गत पस १५ गते, वैदेशिक रोजगारका उजुरीमा मेलमिलापकर्ताको रूपमा काम गर्न चाहाने तालिम प्राप्त व्यक्तिलाई सूचीकृत हुन भनी सूचना निकालेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६, १४:४७