पर्वत । गण्डकी प्रदेश सरकारले पहाडी क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरी सहयोग गर्न थालेपछि बागलुङको ताराखोला, ढोरपाटन, तमानखोला लगायतका गाउँका किसानले आलु खेती बिस्तार गरेका छन् ।
अरु बालीभन्दा आलुखेती राम्रो हुने भएकाले पश्चिमी बागलुङमा किसान यसप्रति आकर्षित भएका हुन् । बागलुङ्ग ताराखोलाका दुई सयभन्दा बढी परिवार आलु खेतीमा आबद्ध छन् । किसानले फलाएको आलु बिक्रीका लागि बाग्लुङ बजार ल्याउँछन् ।
ताराखोला जस्तै गल्कोट, ढोरपाटन, तमानखोला र निसीखोलामा पनि व्यावसायिक आलु खेती हुने गरेको छ । गल्कोट नगरपालिका १ दुदिलाभाटीका एकबहादुर घर्तीमगरले यस क्षेत्रको आलु ग्राहकको रोजाइ र खोजाइमा परेको हुनाले किसानलाई बजार खोज्नु नपरेको बताउनुभयो ।
गतवर्ष ताराखोला, निसीखोला, तमानखोला गाउँपालिका सहित गल्कोट र ढोरपाटन नगरपालिका समेटेर आलु जोन घोषणा गरिएको छ ।
धान खेती नहुने भएकाले यहाँका किसानले आलु बेचेर चामल किन्ने गरेका छन् भने अरु घरखर्ची चलाएर बचत पनि गर्छन् । गाउँमा सडक पुगेपछि ढुवानीको समस्या छैन । हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिकटन आलु उत्पादन हुन्छ ।
त्योमध्ये हिउँदमा २६ हजार ९ सय टन र वर्षात्मा ११ हजार ६ सय ९४ टन आलु बजारमा आउने गरेको कृषि तथ्याङ्क छ । कृषि ज्ञान केन्द्रले यसवर्ष थप क्षेत्र विस्तारको कार्यक्रम ल्याएको कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत विश्वास काफ्लेले बताउनुभयो ।
भौगोलिक उचाइ र हावापानीले साथ दिएकाले ताराखोला, ढोरपाटन, गल्कोट, निसीखोला, तमानखोला लगायतका क्षेत्रका आलु खानमा मीठो छ । आलुले किसानलाई आत्मानिर्भर मात्रै बनाएको छैन बाग्लुङलाई आलु खेती हुने जिल्लाका रुपमा पहिचान दिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६, १३:११