दार्जिलिङ ।
पूर्वी नेपालको सिमाना काकडभिट्टाबाट हुँइकिदै गरेका गाडी छिचोल्दै पहाडको बाटो करिब ९० किलोमिटर हिडेपछि सुन्दर शहर दार्जिलिङ पुगिन्छ ।
दार्जिलिङ पुगेपछि मुख्य बजारमा दोलखाका शम्भु तामाङ भेटिनुभयो । दार्जिलिङमै भारी बोक्न थालेको ४० वर्ष भएछ । उमेरले ५६ टेक्यो, तर दुःख विसाउने टेको अझै लागेको छैन ।
हातमा नाम्लो बोकेर भारी कुरिरहनुभएका तामाङले भन्नुभयो, ‘दुःख त यही त हो नि, दिनभरी भारी बोक्यो, बेलुका गयो, खायो, सुत्यो । ’
शिरमा ढाका टोपी र काँधमा नाम्लो, दार्जिलिङका नेपाली भरीयाको पहिचान हो । फाट्ट फुट्ट भारी बोक्ने महिला पनि थपिंदैछन् ।
भारी बोकेर निकै टाढा टाढासम्म जाने गरेको तामाङले सुनाउनुभयो । परिवार पाल्न र छोराछोरी पढाउन भारी नबोकी सुखै छैन । दुई छोरी र एकजना छोरा पढ्दैछन् । श्रीमतिले पनि दार्जिलिङमै घरको काम गर्ने गर्नुभएको छ । श्रीमतिको कमाइ पनि थपिंदा परिवार पाल्न अलि सहज भएको छ ।
अधिकांश भरीया दोलखा, सिन्धुपाल्चोक, रामेछापका भेटिए । दोलखाकै राजन क्षेत्रीले पनि सानैदेखी भारी बोक्ने काम गर्नुभएको हो । क्षेत्री गाउँलेको साथ लागेर १०/११ वर्षको हुँदा पहिलोपटक दार्जिलिङ पुग्नु भएको हो । ३५ भर्षभन्दा बढी भयो, टाउँकोको भारी छुटेको छैन ।
क्षेत्रीले भन्नुभयो, ‘आम्दानी भयो भने कोही बेला १५००/२००० पनि हुन्छ, कहिले ५०० मात्रै हुन्छ, कोही बेला त एक पैसा पनि हुँदैन ।’
दार्जिलिङको ब्यस्त बजारमा सबै हतारमै देखिन्छन् । दुई छाक खाना जुटाउन त्यही भिडमा भारी पाइएला की भन्दै टाउकोमा हात राखेर भरीयाहरू भने भारी कुरिरहेका भेटिए । त्यही भिडमा ४८ वर्षका पद्मा थामी पनि भेटिनुभयो ।
दार्जिलिङको ब्यस्त बजारमा सबै हतारमै देखिन्छन् । दुई छाक खाना जुटाउन त्यही भिडमा भारी पाइएला की भन्दै टाउकोमा हात राखेर भरीयाहरू भने भारी कुरिरहेका भेटिए ।
बिहान ६ बजे डेराबाट हिडेपछि झमक्क साँझ परेपछि मात्रै उहाँ डेरा पुग्नुहुन्छ । छिटो छिटै भारी पाइहालियो भने कमाइ बढ्छ, नत्र पेटभरी खान पाइन्छ कि पाइंदैन, यसै भन्न सकिन्न । थामीले दार्जिलिङमै भारी बोक्ने काम गर्न थालेको ९ वर्षभन्दा बढी भयो ।
उहाँले भन्नुभयो, ‘छोराहरू छन्, ५ जना ।कोही गाडी चलाउँछन्, कोही अरु नै काम गर्छन् । श्रीमान छैनन्, खसेका ।’
आम्दानीको हिसाबकिताब सुनाउँदै थामीले भन्नुभयो, ‘भारी पाइयो भने त कमाइ हुन्छ, नत्र के कमाइ हुन्छ र ? अर्काको चोरेर खान मिल्दैन ।’
शिरमा ढाका टोपी र काँधमा नाम्लो, दार्जिलिङका नेपाली भरीयाको पहिचान हो । फाट्ट फुट्ट भारी बोक्ने महिला पनि थपिंदैछन् ।
दुईबर्ष अघि गरेको एक अध्ययनमा भेटिन्छ, दार्जिलिङ र सिक्किममा करिब दुई लाख नेपाली मजदुर छन् । भारी बोकेर मात्रै जीविका चलाउनेको संख्या एक लाखको हाराहारीमा छ । तर भारी बोकेरै जीविका चलाउने भरीयाहरुको दुःखको हिसाब भने त्यो भन्दा ठूलो छ ।
पछिल्ला पुस्ताका भरीयाहरू सरकारले काम दिए आफूहरु विदेश आउनै नपर्ने गुनासो पनि गर्छन् ।
वर्षभरी भारी बोकेर मिलेसम्म चाडबाडमा घर जाउँला अनि उतै बसौला भन्ने योजना सबैले बनाउँछन् । तर, सबैको योजना सफल हुँदैन । भारीले थिचिंदै योजना योजनामा नै सकिन्छ । वर्षौदेखि घर नगइ बसेकाहरू पनि छन् । तर मनभरी घरको सम्झना र देशको माया सबैसँग छ ।
काम भएका बेला दैनिक हजारदेखि १५ सय रुपैयाँसम्म कमाउने नेपाली भरीया भारी बोकेर गन्तव्यमा पुगेपछि उज्यालो अनुहार पार्दै पैसा गन्छन् र डेरा फर्किन्छन् । तर दुःखको भारी कहिले बिसाउन पाइएला ? दार्जिलिङका पहाड हेर्दै सुइअ.....सुस्केरा हालेर आफैसँग प्रश्न गरिरहेका छन् ।
वर्षभरी भारी बोकेर मिलेसम्म चाडबाडमा घर जाउँला अनि उतै बसौला भन्ने योजना सबैले बनाउँछन् । तर, सबैको योजना सफल हुँदैन ।
चिया बगानमा रुपैयाँ फल्छ रे भन्ने प्रचारबाजीबाट हजारौँ हजार नेपाली मजदुर दार्जिलिङ पुगे । एकपटकको चिया बगान कुल्ली, सधैँका लागि चिया बगान कुल्ली भन्ने तत्कालीन सरकारको अलिखित कानुनअनुसार उनीहरू त्यहीका बासिन्दा भए । नेपाली मुलका भारतीय बने ।
अहिले पनि हजारौं नेपाली दार्जिलिङका पहाडमा काँधमा नाम्लो भिरेर सुख खोज्दै दुःखको भारी बोकेर संघर्ष गरिरहेका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६, ०८:०६