काठमाडौँ । सरकारले छाउगोठ भत्काउने अभियानका नाउमा मानिस बस्ने घर भत्काइएको भन्दै नेकपाका सांसदले विरोध जनाएका छन् । जुम्लाबाट निर्वाचित नेकपा सांसद गजेन्द्रबहादुर महतले छाउगोठको नाममा कर्णाली र सुदूरपश्चिमका नागरिकको बस्ने घर नभत्काउन आग्रह गर्नुभयो ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद महतले भन्नुभयो,' ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठजना मान्छेको एउटा होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छेको बसमा मृत्यु भएको छ, बसमा आगो लगाउँदै हिँड्ने ?’
महतले थप्नुभयो,' ‘हिजो गोर्खाली सेनाको नाममा हाम्रा घर भत्काइयो, अहिले छाउगोठको नाममा हाम्रो घर भत्काउने ? के हेरेर बस्या छ गृहमन्त्रालय ? काम पा’छैन सरकारले ?’ उहाँले प्रश्न गर्नुभयो ।
छाउगोठ भत्काउनु भन्दा भ्रष्टाचार र अनियमितता रोक्ने काममा लाग्न सरकारलाई सांसद महतको सुझाव थियो ।
‘जिल्लामा नुन बेचिएको छ, औषधि बेचिएको छ, त्यत्रो भ्रष्टाचार छ, उनीहरुलाई सम्हाल्नु छैन,’ सांसद महतले उल्लेख गर्नुभयो, ‘पुलको बेहाल छ, बाटोको बेहाल छ, ठेकदार कहाँ छ कहाँ छ थाहा छैन, तिनलाई कारबाही गर्नुपर्दैन ?,
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६, १४:३१