जुम्ला । जुम्लाको तातोपानी गाउँपाालिका वडा नम्वर ७ सर्मिमा निर्माण भएको ग्रामीण कृषि सडकको विषयलाई लिएर विवाद चुलिएको छ । सहमतिबिनै रातारात डोजर चलाएको र विरोध गर्दा जनप्रतिनिधिले धम्की दिएको सर्मिका स्थानीयले गुनासो गरेका छन् ।
स्थानीयले आफूहरूसँग छलफल नगरिकनै सडक खनिएको भन्दै बिरोध गरेका हुन् । सडक खन्ने क्रममा मार्सी फल्ने धान खेत नासिने भन्दै सडकमार्ग परिवर्तन गर्न स्थानीयबासीले माग गरेका छन् ।
तातोपानी ७ सर्मिका बमबहादुर रावल आफूहरूको असहमति हुँदाहुँदै पनि जबर्जस्ती डोजर चलाइएको बताउनुहुन्छ ।
रावलले भन्नुभयो, ‘एकमद खेतेली जग्गा हो, खानलाउने नै यही हो । हामीसँग कुनै सल्लाह नै नगरी बाटो खन्ने काम गरियो । कृषि विकास कार्यालय जुम्लामा आउँदा उपाध्यक्षको परिवारबाट यो कर्णाली राजमार्ग पनि हिड्न पाउने अधिकार हुँदैन भन्ने जवाफ आयो ।’
धान फल्ने जग्गा नमासौँ भन्दा घुमाउरो भाषामा जनप्रतिनिधिले धम्क्याएको स्थानीयको गुनासो छ । कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको कुल २० लाख बजेटले ४ सय ८० मिटर सडक खन्ने सम्झौता राँका तरापी सर्मि ग्रामीण कृषि सडक उपभोक्ता समितिले कृषि विकास कार्यालयसँग गरिसकेको छ ।
यो सडकको दुरीमा ११ जनाको जमिन पर्दछ । खेत मासेर सडक बनाउनु विकासको नाममा विनास भएको स्थानीय विमला डाँगीको भनाइ छ ।
डाँगीले भन्नुभयो, ‘हाम्रो जग्गा यतिमात्रै हो, नफाल्देऊ भनेर हामी रुन÷कराउन लाग्यौँ । हाम्रो सहमति नै थिएन । हामीले सहमति नगरेपछि यिनीहरूले सहमति नगरे पनि केही फरक पर्दैन, हामी डोजर चाउँछौं भनेर हचुवाको भरमा डोजर चलाए ।’
सडक खन्न थालिएको क्षेत्रमा झण्डै २० हजार वर्ग मिटर जमिन छ । जसबाट वार्षिक लगभग २० क्विन्टल मार्सी धान उत्पादन हुने स्थानीय बताउँछन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा पनि जग्गाधनीको सहमति विना सडक निर्माण गर्न नपाईने बताउनुहुन्छ ।
गाउँपालिकाका उपाध्यक्षको डोजरबाट बाटो खनिएको छ । स्थानीयले एकतर्फी रुपमा बाटो खन्नुमा उपाध्यक्षको हात भएको आरोप लगाउँछन् । उपाध्यक्ष गंगादेवी उपाध्याय यसलाई अस्वीकार गर्नुहुन्छ ।
उपाध्यायले भन्नुभयो, ‘त्यहाँका समितिले के गरेका हुन्, त्यहाँका नेताले के गरेका हुन्, त्यहाँका स्थानीयले के गरेका हुन् त्यो कुरा मलाई थाहा छैन । ’
सर्मीका नागरिकले विकासको नभइ आफूखुसी सडक खनेकोमा विरोध गरेको बताएका छन् । उनीहरूले क्षतिपूर्तिको माग समेत गरेका छन् ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६, १३:०१