रेडियो माण्डबी, प्युठान ।
घरमै सुत्केरी हुने आमाहरूलाई स्वास्थ्य संस्थासम्म ल्याउन प्यूठानको स्वर्गद्वारी नगरपालिकाले उपमेयर कोशेली कार्यक्रम सञ्चालन गरेको छ ।
स्वास्थ्य संस्थामा आएर सुत्केरी भएपछि त्यस्ता आमाहरूलाई विभिन्न कोशेली दिने गरिएको छ ।
प्युठानका ग्रामिण क्षेत्रका महिलाहरू अझैपनि स्वास्थ्य संस्थामा सुत्केरी हुन जाँदैनन् ।
घरमै सुत्केरी हुने आमाहरूलाई स्वास्थ्य संस्थासम्म ल्याउन र सुत्केरी महिलाहरुको पोषणमा सुधार ल्याउनका लागि उपमेयर कोशेली कार्यक्रम सञ्चालन गरिएको स्वर्गद्वारी नगपालिकाका उपमेयर गोमा रेग्मीले बताउनुभयो ।
उपमेयर कोशेली कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या समेत बढेको छ । स्वर्गद्वारी, बर्जिवाङ्ग, सारी लगायतका ७ स्वास्थ्य संस्थामा उपमेयर कोशेली कार्यक्रम लागू भएको छ ।
जसका लागि नगरपालिकाबाट यसवर्ष २० लाख बजेट विनियोजन गरिएको छ । उपमेयर काशेलीमा झोलासँगै, सेनेटरी प्याड तथा आमा र बच्चाको सरसफाईका लागि आवश्यक सामान दिने गरिएको छ ।
कार्यक्रम अन्तरगत यो वर्ष स्वर्गद्वारीमा एक सय ९२ जना सुत्केरी आमाहरूले कोशेली पाएका स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिनुभयो ।
उपमेयर कोशेलीसँगै स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरूलाई केन्द्र सरकारले उपलब्ध गराउने यातायात भत्ता वापतको रकम पनि दिइन्छ ।
नगरक्षेत्र भित्रका विपन्न, पिछडिएका, आर्थिक अवस्था कमजोर र स्वास्थ्य संस्थासम्म पहुँच नभएकाहरूलाई यो कार्यक्रमले सहयोग पुगेको स्वर्गद्वारी ४ का सुनिता घर्तीले बताउनुभयो ।
उपमेयर कोशेली कार्यक्रम अन्तरर्गत छोरीको सुनौलो भविष्यका लागि आमा शिक्षा कार्यक्रम र एकल महिलाका लागि सेनेटरी प्याड निर्माणको तालिम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
जिल्लाका अन्य स्थानीय तहले पनि घरमै सुत्केरी हुने महिलाहरुलाई स्वास्थ्य संस्थासम्म ल्याउन प्रोत्साहनका कार्यक्रम गर्न सके मातृशिशु मृत्युदरमा कर्मी ल्याउन सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६, ११:०३