रेडियो रामेछाप, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्वर ३ मा रहेको जगनीस्थान आधारभूत विद्यालय व्यवसायीक खेती र शिक्षातर्फ अग्रसर भएको छ ।
विद्यार्थी बढाउन, शैक्षिक गुणस्तर विकास गर्न र विद्यालयको आयआर्जन बढाउने उद्देश्यले विद्यालयले व्यवसायीक खेती सुरु गरेको हो ।
सामुदायिक विद्यालयको शिक्षण सिकाई र विद्यार्थी संख्या घटिरहेका समाचार आइरहँदा पश्चिमी रामेछापको खाँडादेवी गाउँपालिका ३ सित्खामा रहेको यस विद्यालयले विद्यार्थीको पढाइ–लेखाइसहित शिक्षक र अभिभावकलाई आय आर्जनको बाटोमा लगाएको छ ।
विद्यालयले बङ्गुर, माछा पालन र तरकारी खेती गरेको प्रधानाध्यापक भक्तबहादुर श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो, ‘त्यहाँका बुद्धिजिवी सर्कल सबैलाई लिएर मिटिङ/छलफल ग¥यौं । अब यति भएपछि हाम्रा अभिभावकहरूलाई रोजगारी दिन सक्यौं भने उनीहरूले आफ्ना बच्चालाई नियमित विद्यालय पठाउन सक्लान् र विद्यालयलाई पनि आम्दानी होला भन्ने सोंच राख्यौं ।’
विद्यालयले गाउँपालिकाको थोरै बजेट र चन्दाका आधारमा बङ्गुर र माछा पालन लगायतको व्यवसाय गरी १० लाख रुपैयाँँ जम्मा गरेको छ ।
विद्यालयको नजिकै ४० रोपनी जमिन भाडामा लिएर तरकारी तथा अन्य अन्नबाली लगाएको विद्यालय व्यवस्थापन समितिका सदस्य कल्पना माझीले बताउनुभयो ।
मुस्किलले चलिरहेको विद्यालयको आम्दानी बढेपछि विद्यार्थीलाई खाजा र आवासको सुविधा समेत दिइएको छ । त्यसपछि अघिल्लो वर्ष ७७ जना अनियमित विद्यार्थी रहेकोमा अहिले ८८ जना विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् ।
माझी समुदायका विद्यार्थीलाई १/१ वटा बङ्गुर समेत प्रदान गरिएको छ । विद्यालयले जग्गा भाडामा लिएर लाखौँको खेती र कारोबार गर्न थालेकोमा अभिभावक पनि उत्साहित भएका छन् ।
केही राम्रो गर्ने सोँच राख्ने हो भने सामुदायिक विद्यालयले विद्यार्थी र समुदायको सहयोगमा अब्बल बनाउन सक्छन् भन्ने उदाहरण जगनीस्थान आधारभूत विद्यालयले देखाएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६, १३:१४