पोखरा । चीनको हुवेई प्रान्तमा फैलिएको कोरोना भाईरसको प्रभावले पर्यटकीय मौसममा पनि पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान छ ।
खासगरी चिनियाँ पर्यटकहरूले भरिभराउ हुनुपर्ने होटल रित्तै भएको यूवा व्यवसायी वैभव पौडेल बताउनुहुन्छ ।
नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो स्थानमा छ । चिनियाँ पर्यटक साहसिक खेलहरूमा भाग लिन र पदयात्राका लागि नेपाल आउने गर्छन् ।
पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जीप फ्लायर, ट्रेकिङलगायतका गतिविधिमा चिनियाँ पर्यटकको सहभागिता ठूलो छ । व्यवसायिहरूका अनुसार एकप्रकारले यि गतिविधिहरू चिनियाँ पर्यटककै भरमा चलिरहेको छ ।
प्याराग्लाइडिङ उडान चीनमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको नेपाल हवाई खेलकूद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो ।
भण्डारीले भन्नुभयो, ‘यो कोरोना भाइरसको प्रभाव प्याराग्लाइडिङमा एकदमै धेरै परेको छ । पहिलो प्रभाव यसमै परेको छ भन्दापनि हुन्छ । किनकी चाइनिज पर्यकट नेपाल आएपछि उनीहरूको पहिलो रोजाइ विषय नै प्याराग्लाइडिङ थियो ।’
कोरोनाको प्रभावले प्याराग्लाइडिङका पर्यटक ५० प्रतिशत घटेका भण्डारीको भनाइ छ ।
चीनमा फैलिएको कोरोना भाईरसका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय थपेका छन् भने केहीले छोट्याएर आफ्नै देश फर्किइसकेका छन् ।
सरकारले नेपाल कोरोना भाइरसबाट सुरक्षित छ भन्ने सन्देश फैलाउने हो भने पर्यटन क्षेत्र प्रभावित नहुने नाटाका पूर्व अध्यक्ष एवम् पर्यटन व्यवसायी केदारनाथ शर्मा बताउनुहुन्छ ।
गतवर्ष फेब्रुअरीमा मात्र करिब दुई लाख चिनियाँ पर्यटक नेपाल आएकामध्ये करिब सत्तरी प्रतिशत पोखरा आएका थिए ।
फेबु्रअरी महिनामा चिनियाँ पर्यटकले पोखराको भ्रमण तालिका बनाउने गर्छन् । तर कोरोना भाईरसकै कारण चिनले आफ्ना नागरिकहरूलाई अन्य देशमा हिँडडुल गर्न रोक लगाएपछि पोखरालगायत मुलुकभरका पर्यटन व्यवसायी चिन्तामा छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६, ०७:०८