काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा आजबाट बालविवाहविरुद्धको चारमहिने सञ्चार अभियान सुरु भएको छ ।
सञ्चार अभियान अन्तर्गत देशका ७७ वटै जिल्लाका सामुदायिक रेडियोमार्फत १५ हजारभन्दा बढी व्यक्तिहरूको बाल विवाहविरुद्धको प्रतिबद्धता सङ्कलन गरिने अकोराबका अध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो ।
यस अभियानमा प्रदेशस्तरीय छलफल कार्यक्रम पनि गरिनेछ ।
बालबालिकाको क्षेत्रमा कार्यरत संस्था वर्ल्डभिजन इन्टरनेश्नल नेपालसँगको सहकार्यमा अकोराबले बालविवाहविरुद्धको अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत आज बिभिन्न धर्मगुरू तथा अभियन्ताहरूसँग छलफल गरिएको छ । छलफलमा भाग लिँदै उनीहरूले धर्मग्रन्थले बालविवाहलाई मान्यता नदिएको बताएका छन् ।
हिन्दु धर्मका अगुवा रामचन्द्र भण्डारीले हिन्दु धर्मग्रन्थमा बालविवाहलाई उत्प्रेरणा दिने काम नगरेको दाबी गर्नुभयो । धर्मग्रन्थले बालविवाहलाई टेवा पु¥याएको भन्ने गलत प्रचार भइरहेकाले उहाँले विद्धानलाई बोलाएर खुला बहस गर्न जरुरी रहेको औँल्याउनुभयो ।
उहाँले हिन्दुको धर्मग्रन्थ मनुस्मृतिमा पनि २५ वर्षपछि मात्रै गृहस्थाश्रममा प्रवेश गरी विवाह गर्ने कुरा उल्लेख भएको बताउनुभयो । त्यसैले यस्ता राम्रा कुरा पनि बाहिर ल्याउन जरुरी रहेको उहाँको भनाइ छ ।
बौद्ध धर्मका अगुवा डाक्टर आनन्द भिक्षुले धर्ममा कहीँकतै बालबालिकाको अधिकार हनन हुनेगरी विश्लेषण गरिएको भए यसलाई संशोधन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले धार्मिक गुरूले नै धर्ममा रहेका बालविवाहको पक्षविपक्षका कुरा सार्वजनिक गर्नुपर्ने र विपक्षका कुरा संशोधन गर्ने बाटोतिर लाग्नुपर्ने धारणा राख्नुभयो ।
जीवन जिउने कलाका रूपमा रहेको धर्मले कुनै पनि कारणले अफ्ट्यारो पार्न नहुने उहाँको तर्क छ । क्रिश्चिियन धर्मका अगुवा इशुजङ्ग कार्कीले बाइबलमा नै विवाह आदरणीय हुनुपर्छ भनेको टिप्पणी गर्नुभयो ।
उहाँले कृश्चियन धर्मावलम्बीले प्रवचनको माध्यमबाट पनि बालविवाह बारे चेतना बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । मुस्लिम महिला कल्याण समितिका अध्यक्ष सीमा खानले इस्लाम धर्ममा विवाह गर्ने कुनै उमेर नतोकिएको दाबी गर्नुभयो ।
उहाँले शारीरिक र मानसिक रूपमा सक्षम भएको हुनुपर्ने र केटाले जिम्मेवारी सम्हाल्न सक्नेभएमा विवाह गर्न सक्ने कुरा इस्लाम धर्मग्रन्थमा उल्लेख भएको जानकारी दिनुभयो ।
कार्यक्रममा मर्यादित महिनावारीका अभियन्ता राधा पौडेलले अहिलेसम्म बालविवाह गर्नका लागि घरपरिवारले धकेल्ने काम भइरहेको र समाजले तान्ने काम गरिरहेको धारणा राख्नुभयो ।
उहाँले घरबाटै महिलाले क्रान्ति सुरु गर्नुपर्ने र त्यसमा परिवारले साथ दिनुपर्नेमा जोड दिनुभयो । वल्र्डभिजन इन्टरनेश्नल नेपालका पब्लिक इङ्गेजमेन्ट निर्देशक पुस्कर खातीले कानुनी आँखाले हेरेर मात्र बालविवाह अन्त्य गर्न नसकिने बताउनुभयो ।
यसका लागि बहुआयामिक क्षेत्रबाट सोच्नुपर्ने उहाँको भनाइ थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रमुख अञ्जु ढुङ्गानाले सरकारले बालविवाह विरुद्ध १० वर्षे रणनीति कार्ययोजना तयार गरेर अघि बढेको बताउनुभयो ।
उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत कुरीति विरुद्धको सामाजिक अभियान पनि सरकारले सञ्चालन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । उहाँले यो कार्यक्रम सातवटै प्रदेशमा जाने र प्रदेशगत हिसावले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।
उहाँले बालविवाह गरे गराएमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरीवानाको कानुनी व्यवस्था रहेको पनि स्मरण गराउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष सुवास खतिवडाले धर्मले बालविवाहलाई निषेध नै गर्छ भनेर जनमानसमा पुर्याउन जरुरी रहेको बताउनुभयो ।
धर्मलाई हतियार बनाएर यसको दुरुपयोग भइरहेकाले यसलाई रोक्न धर्मगुरूको महत्वपूर्ण भूमिका रहने टिप्पणी गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६, २०:१७