मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक रेडियोको भूमिका सकारात्मक रहेको बताउनुभएको छ ।
नवौँँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज हेटौँडामा आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
‘रेडियो र विविधता’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिलेका सञ्चारमाध्यमले सकारात्मक सन्देश दिनुपर्छ । रेडियो नभई जनतालाई सुसूचित गर्ने माध्यम नै नहुने अवस्था छ ।'
मुख्यमन्त्री पौडेलले सत्यतथ्यमा आधारित भएर प्रसारण गर्न पनि रेडियोकर्मीहरूलाई सुझाव दिनुभयो ।
अन्तरक्रियामा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेले सामुदायिक रेडियोलाई सहयोग गर्नको लागि सरकरा तयार रहेको बताउनुभयो ।
उहाँले सामुदायिक रेडियोले समाजप्रति पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिरहेको धारणा राख्नुभयो । सञ्चार जगतको लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु हुँदै पत्रकारको नेतृत्व विकासको निम्ति प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा वागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले वागमती प्रद्रेश सरकारले महिला पत्रकारका लागि सुत्केरी सुविधा दिन लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘जेष्ठ पत्रकारलाई पेन्सन दिने व्यवस्था कार्यान्वयन गर्न लागेका छौँ । यसबाट जीवनभर कलम चलाएर पनि आँखिरी दिनमा चिन्ता लिनुपर्ने पत्रकारको बाध्यता टर्नेछ ।’
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका केन्द्रीय महासचिव गोबिन्द देवकोटाले तीन तहका सरकार भईसकेपछि सामुदायिक रेडियोले सहकार्य राम्रो हुने अपेक्षा गरेकोमा त्यसो हुननसकेको बताउनुभयो । स्थानीय सरकारले भएका सामुदायिक रेडियोसँग सहकार्य गरन् छोडी आफैँ रेडियो खोल्नतर्फ लाग्नु सान्दर्भिक नभएको उहाँको भनाइ थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहा नगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामा, प्रदेशका प्रेस रजिष्टार सापकोटा, सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय महासचिब गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ वागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासङ्घ वागमती प्रदेशका महासचिव कृष्ण शारु मगर, ब्रोकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई लगायतकाले कार्यक्रममा विचार राख्नुभएको थियो ।
अकोराबका वागमित प्रदेश अध्यक्ष कृष्णहरि घिमिरेको अध्यक्षता कार्यक्रम गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६, २१:४२