तेह्रथुम । विवाह भन्ने वित्तिकै आकर्षक सजावट, निम्तेरी तथा आफन्तले घर भरिभराउ भएको जो कोहीले कल्पना गर्छन् । तर तेह्रथुममा भने एक जोडीका लागि न कसैले निम्तो बाँड्नुपर्यो, न आर्थिक रूपमा खर्च नै भयो ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–५ अम्फुवाका ऋषिहाङ सोदेम्बा र मोरङ मधुमल्लाकी तनु लिम्बुबीच वनभोज कार्यक्रम मै विवाह भएको छ ।
पछिल्लो समय तामझामका साथ भड्किलो विवाह हुने क्रम बढिरहेका बेला आफूहरूले कम खर्चमा विवाह गरेको बेहुला ऋषीहाङ लिम्बुले बताउनुभयो
मौलिक रीतिथिति र संस्कृतिमा धनी नेपाली समाजमा सकिनसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । विवाह परम्परा नै धान्ने नाममा कतिपयलाई ऋण खोज्नुपर्ने वा खेतवारी नै बेच्नुपरेका उदाहरण समाजमा पाउन सकिन्छ ।
तर यो मान्यतालाई तोड्दै लिम्बु जातीको छ रायहरूले आयोजना गरेको वनभोजमा आफूले छोरा र बुहारीको विवाह कर्म सम्पन्न गरेको बेहुलाका बुवा कालिबहादुर सोदेम्बाको भनाइ छ ।
सामान्य विवाह गर्नका लागि पनि दुईलाखभन्दा बढी नै खर्च हुन्छ तर यो जोडीको विवाहमा पाँचसय रुपैयाँ पनि खर्च भएन । भारतीय सैनिकमा कार्यरत ऋषीहाङले सिन्दुर, पोते र माला गरेर तीनसय मात्र खर्चेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६, १६:३५