काठमाडौँ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान सामाजिक विकृति हटाउने कार्यमा लाग्न रेडियोकर्मीहरूलाई आग्रह गर्नुभएको छ ।
नवौँ विश्व रेडियो दिवसका अवसरमा आज दाङको घोराहीमा भएको प्रदेश ५ स्तरीय अन्तरक्रियामा मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को आयोजना तथा अकोराब प्रदेश ५ को संयोजनमा भएको अन्तरक्रियालाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले सामाजिक विकृतिको अन्त्यका लागि सबै रेडियोकर्मीले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय जनता र समुदायका आवाज बोल्ने रेडियोहरूले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोले समाज परिवर्तनका लागि भूमिका खेलेको उल्लेख गर्दै समुदायका आवाजहरू विभिन्न तौरतरिकाबाट सामुदायिक रेडियोमा आइरहेको टिप्पणी गर्नुभयो ।
समाचार, कार्यक्रमको माध्यमबाट आदिवासी, जनजाति, अल्पसङ्ख्यकका आवाज सामुदायिक रेडियोले समेट्दै आएको उहाँको दावी थियो ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले लोकतन्त्र सुदृढिकरणका विषयमा सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको धारणा राख्नुभयो । रेडियोको विकाससँगै सञ्चालन गर्न समस्या रहदै आएको र रेडियाकोे आवश्यकतालाई पुष्टि गर्दै रेडियोको सान्दर्भिकतालाई संक्षणका लागि सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।
दिगोपनाका लागि निजी क्षेत्रसँग मात्रै आश्रित हुने हो भने रेडियोकोको भूमिका लोप हुने पाण्डेयले आँकलन गर्नुभयो । रेडियो स्वर्गद्वारी दाङका स्टेसन म्यानेजर दधिराम शुवेदीले सञ्चारमाध्यम चलाउनै समस्या रहेको भन्दै राज्यले सञ्चारको महत्व वुझदै संक्षण र रेडियोको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।
महिला, दलित, जनजाति, अल्पसङ्ख्यकका विषलाई समावेश गर्नसक्नुपर्ने उहाँको भनाइ थियो । प्रदेश संसाद रेवतिरमण शर्माले विभिन्न घटना, राज्यका दमनहरूका बारेमा रेडियोले सुसूचित गराउँदै आएको बताउनुभयो ।
प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले सञ्चारमाध्यम सङ्ख्यात्मक विकास भए पनि यहाँ आएका विकृतिलाई समीक्षा गरी हटाउँदै जानुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सामुदायिक रेडियोले समाज परिर्वतमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ प्रदेश नम्बर ५ का अध्यक्ष केपि घिमिरेको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६, १८:२५