बारा । विद्यार्थीहरूमा ‘जंक फुड’ अर्थात् तयारी खानेकुरा प्रतिको आकर्षण बढ्दै गएपछी सचेतनाका लागि बाराको निजगढ नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा स्वास्थ्यकर्मी खटाएको छ ।
बनिबनाउ खानाको असर बाल मष्तिष्कमा र स्वास्थ्यमा नकारात्मक पर्ने भन्दै नगरपालिकाले नियन्त्रण अभियान चलाएको हो ।
निजगढ नगरपालिकाले नगरभित्रका सामुदायीक विद्यालयमा बिस्कुट, चाउचाउ लगायतका बनिबनाउ खानेकुरा पूर्ण प्रतिबन्ध लगाएपछी विद्यार्थीहरु अहिले घरबाटै खानेकुरा बोकेर आउन थालेका छन् ।
नगर प्रमुख सुरेशकुमार खनालले यसको पूर्ण कार्यान्वयनका लागि नगरले ३ वटा सामुदायिक विद्यालयमा एक एक जना नर्स पठाइसकेको बताउनुभयो ।
सात वटा माध्यमिक र २० वटा आधारभूत गरी २७ वटा सामुदायीक विद्यालय निजगढ नगरपालिकाभित्र छन् । नगरकै आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी पहिलो चरणमा तीन वटा माध्यामिक विद्यालयमा अनमी खटाइएको छ ।
निजगढ–७ स्थित नेत्रोदय माध्यामिक विद्यालयमा जनचेतना जगाउन पुग्नुभएकी स्वास्थ्कर्मी राधिका खड्काले विद्यालयमा चोटपटक लागेका विद्यार्थीको जाँच गर्ने, अन्य केही स्वास्थ्य समस्या छ की छैन भनेर जाँच्ने गरेको बताउनुभयो ।
पठनपाठनका क्रममा अचानक आइपर्ने स्वास्थ्य समस्याबारे परामर्श लिन र औषधी उपचार समेत विद्यालयमै पाउने भएपछी विद्यार्थीले समेत सजिलो महसुस गरेका छन् ।
एकजना विद्यार्थी रेनुका विश्वकर्माका अनुसार विद्यालयमै नर्स आउने हुँदा बीचमै कक्षाकोठा छोडेर जानुपर्ने बाध्यता हटेको छ । उहाँले पेट दुख्दा, टाउको दुख्दा नर्सले जाँच गरेर औषधि दिँदा घर जानुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो ।
नगरपालिकाले हाललाई ३ विद्यालयबाट बनिबनाउ खाने कुराको प्रतिबन्ध लगाए पनि बाँकी अरु विद्यालयमा पनि घरयासी खानेकुराको उपयोगलाई जोड दिने तयारी गरेको छ ।
नगर शिक्षा शाखा प्रमुख राजु बानियाँले कसैले बनिबनाउ खाना ल्याएको छ छैन भन्ने विषयमा अनुगमन गर्ने र यदि कसैले त्यस्तो गरेको पाइएमा चेतावनी दिने र दण्ड सजायको पनि व्यवस्था गर्ने बताउनुभयो ।
पहिलो चरणमा तीन वटा माध्यमीक विद्यालयमा चलाइएको यो अभियानबाट हाल दुई हजार ६ सय ४४ विद्यार्थी लाभान्वित भएका छन् भने सबै विद्यालयमा कार्यान्वयन भएमा १७ हजार ४ सय ९४ विद्यार्थी लाभान्वित हुनेछन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६, ०८:४७