अछाम ।
अछामका युवाहरू व्यवसायिक कृषि र पशुपालनमा आकर्षित भएका छन् । स्थानीय सरकारले युवालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि कृषि र पशुपालनमा लाग्ने युवाको सङ्ख्या बढ्न थालेको हो ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्या समेत घट्न थालेको छ ।
अछाम लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा बाँझो जमिन धेरै भएपनि युवाहरू खेती किसानी गर्न छोडेर विदेशिने दर उच्च थियो । तर, अहिले स्थानीय सरकारको साथ पाएपछि व्यवसायिक कृषिमा लाग्ने युवा बढेका छन् ।
मङ्गलसेन नगरपालिका ३ का रामराज नाथले प्राङ्गारिक र कम्पोष्ट मल बनाएर कृषि खेतीमा लागेको बताउनुभयो । नाथले भन्नुभयो, ‘व्यवसायिक रुपमै कृषि खेतीमा लागेको छु । आलु देखि सारा उत्पादन हुन्छ हाम्रो गाउँमा । आफ्नो गाउँ ठाउँ बनाउँ भन्ने सोंच हो ।’
नाथले अगाडी भन्नुभयो, ‘त्यति सम्पन्न नभएपनि बाख्रा, तरकारी खेतीबाटै एउटा बच्चालाई काठमाडौंमा बोडस गरेको छु । ’ सुदूरपश्चिमका गाउँमा आत्मा निर्भर बन्दै गरेका किसानहरू अहिले धेरै भेटिन्छन् ।
बैदेशिक रोजगारीमा गएर पसिना बगाउनुभन्दा गाउँ घरमै बसेर आयआर्जनको बाटो अपनाउन बेस भएको भन्दै बाख्रा पालनमा लागेको अनुभव सुनाउनुन्छ, तुर्माखाद गाउँपालिका वडा नम्बर ५ का अगुवा कृषक रामप्रसाद जैशी ।
जैशीले भन्नुभयो, ‘आफ्नै विचार हो, इन्डिया नजाने । बाख्रा पालन छ । कृषिमा आलु, सागसब्जी, तरकारी छ । ’ बाख्रा पालनमा लागेर आम्दानी गर्न थालेपछि रोजगारीकै लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य भएको जैशीले बताउनुभयो ।
विभिन्न संघ संस्थाले दिएको तालिममा सहभागी हुने अवसर पाएपछि तुर्माखाद गाउँपालिका वडा नम्बर ४ का कविराम बयकको पनि काम फेरिएको छ । बाख्रा पालन, तरकारी खेतिको तालिमले कृषि र पशुपालनलाई थप व्यवसायिक बनाएको छ ।
बयकले भन्नुभयो, ‘बाख्रा पालन व्इवसाय छ । आधुनिक खोर बनाइरहेको छु । पहिला मसँग १० वटा मात्रै बाख्रा थियो, अहिले २०/२५ वटा छ । खसी÷बोका बेचेको पैसाले पढ्नेलेख्ने, खाने कुराहरूमा सहयोग पुगिराखेको छ । ’
कृषिबाटै जनतालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ जिल्लाका १० वटै स्थानीय तहले कृषिलाई प्राथमिकतामा राखेको छन् । कृषि समृद्धिको मूल आधार भएकाले प्राथमिकता दिइएको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्का बताउनुहुन्छ ।
उहाँले कृषिको लागि पञ्चवर्षिय योजना बनाएर काम गरिरहेको बताउनुभयो ।
स्थानीय सरकारको योजनामा कृषि ज्ञानकेन्द्र अछामको पनि साथ छ । केहि समय पहिले जिल्लामा आलुको आयात घटाउने उद्देश्यले किसानलाई बर्खे आलुको बिउसँगै सीपमूलक तालिम पनि दिइएको थियो ।
कृषि ज्ञान केन्द्र अछामका निमित्त प्रमुख छपेन्द्रप्रसाद शर्माले कृषिको उत्पादकत्व बढाउनका लागि कृषि क्षेत्रमा लाग्नेलाई अनुदान दिने बताउनुभयो ।
स्थानीय सरकारले साथ दिए युवाहरू गाउँमै खेती किसानी गर्ने योजना बनाइरहेका छन् । तर विदेशिन नचाहने युवालाई स्थानीय सरकारको बलियो साथ आवश्यक छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६, १२:१४