महोत्तरी । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सामुदायिक रेडियोहरु समाज सुधारका पहरेदार भएको टिप्पणी गर्नुभएको छ ।
नवौँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको 'रेडियो र विविधता' विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताउनुभएको हो ।
समाजमा व्याप्त कुरीतिहरुको न्यूनीकरणमा सामुदायिक रेडियोहरुले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले सामुदायिक रेडियो आवाजविहीनको आवाज बनेको बताउनुभयो ।
प्रदेश २ का ८ जिल्लामा ४६ वटा सामुदायिक रेडियो रहेको स्मरण गर्दै राउतले भन्नुभयो,' सकारात्मक सहयोग भएनन भनेर तपाईँहरुले गुनासो गर्ने अवस्था आउनु दुखद हो । धेरै कुरा चाहेर पनि गर्न सकिएको छैन ।'
आगामी दिनमा भने सामुदायिक रेडियोसँग अत्यन्त नजिकबाट सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री राउतले समाजका विकृतिलाई हटाउने बारेमा सामुदायिक बाहेकका रेडियोले ध्यान नदिएको उल्लेख गर्नुभयो।
आफूले सुरु गरेको 'बेटी पढाउ, बेटी बचाउ', 'छोरी बीमा' लगायतका कार्यक्रम र अभियान सफल पार्न पनि सामुदायिक रेडियोबाट सहयोगको अपेक्षा गरेको उहाँले सुनाउनुभयो ।
'सबभन्दा धेरै दलितको जनसङ्ख्या प्रदेश २ मा छ । उनीहरुलाई विभेदबाट मुक्त गर्न 'दलित सशक्तिकरण एन् तयार पार्ने हामी नै पहिलो प्रदेश हौँ ।' मुख्यमन्त्री राउतले थप्नुभयो, 'कसैको महिमा गान गाउनु मिडियाको धर्म होइन, गलत छ भने गलत भन्ने र असल छ भने असल भन्ने हिम्मत सामुदायिक रेडियोले गर्नुपर्छ ।'
अकोरावका महासचिव गोविन्द देवकोटा, उपाध्यक्ष निमिष कर्ण, नेपाल पत्रकार महासङ्घका पूर्व कोषाध्यक्ष शीतल साह, मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डललगायतले आआफ्नो धारणा राख्दै प्रदेश सरकारले सामुदायिक रेडियोहरुको वृति विकासका लागि सहयोग गर्नु पर्ने धारणा राख्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६, १८:४२