काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहनुभएका नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले शिष्टाचार भेट गर्नु भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्याकक्षमा हिजो साँझ भएको भेटमा राजदूत मिलानले सभामुख सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
भेटमा सभामुख सापकोटाले दुई देश दूरीका हिसाबले टाढा भए पनि मित्रताको हिसाबले नजिक भएको बताउनुभयो ।
सभामुख सापकोटाले २०७२ सालमा गएको महाभूकम्पका बेला चेक सरकारले गरेको सहयोगको प्रसंशा गर्दै यस्ता सहयोगले दुई देशबीचको सम्बन्धलाई थप गाढा बनाएको बताउनुभयो ।
‘दुई देशबीच संसद–संसद, सरकार–सरकार र जनस्तरसम्म सम्बन्ध छ, यो असल मित्रताको उदाहरण हो’ सभामुख सापकोटाले भन्नुभयो ।
भेटमा सभामुख सापकोटाले युरोपियन युनियनको सक्रिय र महत्वपुर्ण सदस्यका रुपमा रहेको चेक गणतन्त्रले नेपाली हवाई उडानमाथि आईकाओले लगाएको प्रतिबन्ध फुकुवाका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
चेक गणतन्त्रले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै सभामुख सापकोटाले नेपाल र चेक गणतन्त्र दुबै भूपरिबेष्ठित देश भएकोले समग्र भूपरिबेष्ठित देशको हितमा संयुक्त पहल गर्ने धारणा राख्नुभयो ।
भेटमा राजदूत मिलानले सभामुख सापकोटालाई चेक गणतन्त्रको भ्रमणको निम्तो दिनुभएको छ ।
उहाँले चेक गणतन्त्रले नेपालमा खानेपानी, सरसफाई, सौर्य उर्जा लगायतका क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिंदै पर्यटन विकासका लागि पनि सहकार्य गर्ने विश्वास दिलाउनुभयो ।
राजदूत मिलानले दुई देशबीच आर्थिक सहयोगका लागि संरचना भए पनि सदुपयोग गर्न नसकिएको भन्दै यो बर्ष त्यससम्बन्धी काम पनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत मिलान भारतस्थित दूतावासमा कार्यरत युरोपियन युनियनका राजदूतहरुमध्ये बरिष्ठ हुनुहुन्छ ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६, ०९:१७