सागर खड्का, रेडियो मेलम्ची, सिन्धुपाल्चोक ।
युवाहरू कामको खोजीमा शहर पस्ने र विदेश जाने क्रम बढेपछि प्रायः गाउँघरमा उमेर ढल्किएकाहरू मात्रै भेटिन्छन् ।
तर सिन्धुपाल्चोक थुम्पाखरका युवाले भने गाउँ फर्क अभियान चलाएर जिल्लामै पहिलो पटक व्यवसायिक कालिज पालनमा लागेका छन् ।
विभिन्न कामको शिलशिलामा शहर पसेका सुनकोशी गाउँपालिका ६, थुम्पाखरका युवाहरू अहिले आफ्नै थलोमा फर्कन थालेका छन् ।
शहर केन्द्रित हुँदा गाउँघर शुन्य हुँदै गएको भन्दै युवाहरूले गाउँमै बस्ने उद्देश्य लिएर कालिज पालनको नयाँ व्यवसायमा जुटेको बताएका छन् ।
युवा व्यवसायी मिलेर जिल्लामै पहिलो पटक कालिज पालन गर्न थालेका छन् । भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि मार्फत् कालिज पालन सुरु गरेका युवाहरूले यो व्यवसायको लागि १३ लाखभन्दा बढि लगानी गरेका छन् ।
कालिज पालनको लागि खासै प्राविधिक ज्ञानको आवश्यक नपर्नुका साथै थोरै समयमै फाइदा लिन सकिने भएकाले कालिजको व्यवसायिक पालनमा लागेको प्रालिका अध्यक्ष रामचन्द्र कार्कीले बताउनुभयो ।
प्रतिगोटा तीन हजारसम्म विक्री हुने कालिजको मासु स्वादिलो हुने भएकाले यसको माग बढ्दै गएको छ ।
व्यवसाय सुरु गर्दा लगानी बढि परेजस्तो लागेपनि विक्री हुन थालेपछि दुई वर्षभन्दा कम समयमै लगानी उठ्ने र त्यसपछि व्यवसायमा नाफा हुन थाल्ने समुहका अर्का सदस्य मधुसुदन कार्कीको विश्वास छ ।
राजधानी र अन्य स्थानमा बसोबास गर्दै आएका युवाहरू गाउँमै फर्किएका छन् र व्यवसायिक खेती किसानीमा लागेका छन् । सरकारले अनुदान, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा सहयोग गरिदिए मिहेनति युवाहरूलाई थप हौसला मिल्नेछ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६