काठमाडौं ।
चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई नेपाल ल्याइएको छ ।
नेपाली लिएर काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बिहान करिब साढे ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
नेपालले हुवेई प्रान्तमा रहेका १ सय ८५ जना आफ्ना नागरिकलाई उद्दार गर्ने भनेको थियो । तर स्वास्थ्य समस्याका कारण ६ जना आउन पाएनन् भने ४ जनाले आफ्नै इच्छाले आउन नचाहेको बताएका चीनस्थित नेपाली दूतावासले जनाएको छ ।
स्वास्थ्य समस्या देखिएका ६ जना वुहान एयरपोर्टमै रोकिएको दूतावासले विज्ञप्तीमा भनेको छ । चीनले शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियस भन्दा माथि देखाए नेपाल फर्कन नदिने भनेको थियो ।
कोरोना भाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज शनिबार अपरान्ह ४ बजे वुहान प्रस्थान गरेको थियो ।
वुहानबाट ल्याइएका नेपालीलाई स्वास्थ्य जाँचपछि भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ ।
जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका ६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ ।
एकसय ७५ नेपालीलाई नेपाल फर्काएपछि चीनमा रहेका अन्य नेपालीको विषयमा पनि चासो बढेको छ । उनीहरूका विषयमा खोजी गर्न थालिएको छ ।
बेईजिङमा रहनुभएका पत्रकार लक्ष्मी लम्सालका अनुसार विभिन्न पाँचवटा शहरमा रहेका नेपालीहरू, जो विश्वविद्यालयमा पढिरहेका छन्, उनीहरूलाई नेपाल फर्काइएको हो ।
काम गर्न बसेका केहीले फर्किने इच्छा देखाएपछि उनीहरूलाई पनि फर्काइएको छ ।
चीनमा कति नेपाली छन्, उनीहरू कुन कुन शहरमा छन् ? चीनमा रहेका अन्य नेपालीको अवस्था के छ ? भनेर पछिल्लो समय धेरैले चासो लिएका छन् ।
पत्रकार लम्सालले भन्नुभयो, ‘चीनमा ठ्याक्कै यति नेपाली छन् भनेर त भन्न सकिंदैन । लगभग ७/८ हजार नेपाली होलान् भन्नेचाहिँ अनुमान छ, विभिन्न प्रान्तमा छरिएर रहेका छन् ।’
नयाँ वर्षको अवधिमा लगभग एकसाता बिदा भएका हुनाले धेरैजसो नेपालीहरू, कोही नेपाल फर्किएका, कोही कतै गएका, कोही घुम्न गएका थिए ।
निरन्तर सूचना बाँडिएको र गर्न हुने र गर्न नहुने कामका विषयमा जानकारी गराइएकाले त्यो पालना गर्ने हो भने चीनमा रहेका सबै नेपाली अहिलेसम्म सुरक्षित रहेका उहाँको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६, ०७:०८