जीत सागर जिएम, रेडियो हाम्रो पहुँच, दाङ
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को माथिल्लो मुलकोट गाउँमा स्थानीय सरकारको सहयोगमा खानेपानी पुगेको छ ।
लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएपछि, पानी खोज्दै शहर पसेकाहरू गाउँ फर्किने अपेक्षा गरिएको छ ।
७३ वर्षका नोखि पुनलाई पानीका लागि घण्टौं हिड्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । गाउँमै पानी आएपछि पुन मात्रै होइन, पानी ल्याउनकै लागि दैनिक २/३ घण्टा समय छुट्याउनुपर्ने बाध्यता हटेपछि गाउँका अरू महिला पनि खुशी छन् ।
तुलसीपुर उपमहानगरपालिका र स्थानीयको करिब २८ लाख लगानीमा मुलकोट गाउँमा लिफ्ट प्रविधिबाट खानेपानी पुगेको हो ।
भौगोलिक विकटताका कारण माथिल्लो मुलकोटका स्थानीयलाई पानीको साह्रै दुःख थियो । अहिले गाउँमै खानेपानी पुगेपछि नागरिक दङ्ग छन् । स्थानीय दोलखबहादुर पुन अब डोकामा बोकेर पानी ओसार्नुपर्ने बाध्यता हटेको बताउनुहुन्छ ।
माथिल्लो मुलकोटमा ४३ घरधुरी भन्दा बढि थिए । तर पानी खोज्दै १० घरधुरी अन्यत्र गएपछि अहिले गाउँ ३३ घरधुरीमा सिमित भएको छ । पानी लगायतका पूर्वाधारको अभावमा बसाई सरेका माथिल्लो मूलकोटका नागरिक अब फर्किन्छन् भन्ने आशा स्थानीयलाई छ ।
मूलकोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुन पानी आएपछि अब अन्यत्र गएकाहरू फर्कने विश्वास व्यक्त गर्नुहुन्छ । भुगोलका कारण मुलकोटका नागरिक पानीसँगै सडक, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधारको पहुँचबाट टाढा थिए ।
स्थानीय सरकारले पूर्वाधार विकासको काम गरिरहेको र सोही क्रममा पहिलो प्राथमिकतामा खानेपानीलाई राखिएको तुलसीपुर उपमहानगरपालिका प्रमूख घनश्याम पाण्डेले बताउनुभयो ।
स्थानीय सरकारको अनुभुति गर्न पाएकोमा नागरिक पनि खुशी छन् । गाउँमा पानी सुविधा भएपछि करेसामा हरियो सागसब्जी लगाउने स्थानीयको योजना छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६, ०७:३९