पर्वत ।
बिदेश जाने र धेरै कमाउने सपना देखेका यूवा विदेशमा पाएको दुःखले गाउँ फर्किने क्रम बढेको छ । कतिपय दुःख पाएर रित्तो हात फर्किएका छन् । कतिपय सीप आर्जन गरेर फर्किएका छन् ।
विदेशबाट फर्किएका बागलुङका यूवाहरू अहिले व्यवसायिक कृषिमा लागेर मनग्य कमाई गरिरहेका छन् भने परिवारसँग बसेर गाउँमै रमाईरहेका छन् ।
गल्कोट नगरपालिका ४ ठूलाचौरका राजबहादुर पुनले डेढ वर्ष इराक र कोरियामा बिताउनुभयो ।
विदेशबाट फर्किएपछि २०७४ सालबाट एउटा टनेलमा तरकारी खेती शुरु गर्नुभएका राजबहादुरले अहिले ६ वटा टनेलमा तरकारी र एउटा टनेलमा च्याउ खेती गर्नुभएको छ ।
राजबहादुर भन्नुभयो, ‘पहिला इराक गएँ । इराकमा डर थियो, डरकै कारण फर्केर आएँ । त्यसपछि कोरिया गएर फर्केर आएपछि एउटा टनेल हालेर काम सुरु गरेको हो, विदेश भन्दा त यही ठिक छ नि । साथीभाइसँग थोरै समयमा धेरै काम गर्न सकिन्छ ।’
विदेशमा जति समय यही दिने हो भने धेरै कमाउन सकिने उहाँको भनाइ छ । गल्कोट ५ हरिचौरका २४ वर्षका खुमन सिरिस थापा मगरलाई विदेश जाने रहर नलागेको होइन ।
करिब एकवर्ष काठमाडौंमा मेनपावरले झुलाए पछि उहाँ गाउँ फर्किनुभयो, बुबासँग सल्लाह गरेर कुखुरा पालनमा लाग्नुभयो । अहिले कमाई पनि मिहेनत गरे अनुसारकै छ ।
खुमनले भन्नुभयो, ‘महिनामा ६ लाखसम्म आम्दानी छ । मुल्य भएको बेलामा सबैथोक कटाएर महिनामा एक देखि डेढ लाख फाइदा बस्छ ।’
गाउँका प्राय युवा वैदेशिक रोजगारीमा छन् । तमानखोला २ बागलुङका बिनोद छन्त्याललाई भने कहिल्यै विदेश जान मन लागेन । अरुको भोगाई हेर्दा कृषिमै केहि गरौँ भन्ने लागेर बिनोदले गाउँमै अर्गानिक तरकारी फर्म चलाउनुभएको छ ।
स्थानीय सरकारले गाउँमै रोजगारी सिर्जना गरि विदेश जाने क्रम रोक्ने प्रयास गरिरहेका छन् । प्रदेश सरकार मातहत रहेको कृषि ज्ञान केन्द्र मार्फत कृषिमा लाग्ने युवाले अनुदान, सस्तो दरमा ऋण, बजारीकरणमा सहयोग पाउने गरेका छन् ।
जैमिनी नगरपालिका ८ छिस्तीका केदार शर्मा कृषिबाटै नेपालको समृद्धि सम्भव रहेको बताउनुहुन्छ । गाउँमै उद्यम गरिरहेका युवालाई स्थानीय र प्रदेश सरकारको बलियो साथ आवश्यक छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६, ०७:२३