काठमाडौं । काठमाडौं उपत्यकामा अब आकाशमा विजुलीका तार देख्न पाइने छैन । विद्युत् वितरण प्रणाली तारलाई भूमिगत बनाउने काम आजबाट सुरु भएको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको सुरुवागत गर्नुभयो । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताउनुभयो ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।
रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिनुभयो । एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल विद्युत् उत्पादन ५०० मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा ५०० मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६