काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको छ। मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासले महरालाई सफाइ दिने फैसला सुनाएको हो।
बलात्कार प्रयास गरेको अभियोगमा पूर्पक्षका लागि महरा थुनामा रहनुभएको थियो ।
मुख्य न्यायाधीश पौडलको इजलासमा हिजो बहस सकिए पनि समय अभाव देखाउँदै मुद्दालाई हेर्दाहेर्दैको सूचीमा राखिएको थियो।
अन्तिम बहसमा महराको तर्फबाट वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य, लवकुमार मैनाली, शेरबहादुर केसी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी बराल, अधिवक्ता सुशील सापकोटा, अधिवक्ता मुरारी सापकोटालगायतले बहस गर्नुभएको थियो ।
१२ असोजमा संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिनुभएको थियो । १९ असोज साँझ महराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो भने सोही दिन उहाँ पक्राउ पर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६, १४:४५