काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात शवको पहिचान भएको छ । पोस्टमार्टमसँगै गएराती १ बजेपछि शवको पहिचान भएको हो । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका फरेन्सि मेडिसिन विभागका निमित्त विभागिय प्रमुख डा रिजेन श्रेष्ठकाअनुसार राति सवा १ बजे सातैवटा शवको पहिचान भएको हो।
पहिचान गर्न कबिर १० घण्टा लागेको थियो । पोस्टमार्टम सकिएकाले आज बिहान परिवारलाई शव बुझाउने तयारी छ । परिवारले शब बुझेपछि काठमाडौंको टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइनेछ । हिजो तीन बजेपछि हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहान आठ बजेका लागि सारिएको छ। श्रद्धान्जलीपछि मन्त्री अधिकारीको अन्तेष्टि पोखरामा राजकीय सम्मानका साथ हुनेछ ।
अरुलाई पारिवारले आफ्नो परम्परा अनुसार गर्नेछन । सरकारले बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा तयारी पूरा गरेको थियो। श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ व्यक्तित्व, राजनीतिक दलका नेता पुग्नेछन ।
ताप्लेजुङमा दुर्घटना भएको एअर डाइनेस्टीको हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे सवार थिए।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५, ०७:०३