काठमाडौं । लसरकारले चीनको वुहानबाट ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन बनाएर उनीहरूलाई निगरानीमा राखेको आज चार दिन भयो ।
हिजो खरिपाटी पुग्दा नेपाल विद्युत प्राधिकरण तालिमकेन्द्रको मुल गेटमा काभ्रेका महेश्वर बस्नेत र धनकुमारी बस्नेत, हातमा ब्ल्याङ्केट बोकेर उभिइरहनुभएको थियो ।
छोरी रीना बस्नेत क्वारेन्टाईनमा हुनुहुन्छ । छोरीसँग एकछिन फोनमा कुरा गरेपछि बस्नेत दम्पतिले, मुल गेटमा रहेका सुरक्षाकर्मीलाई ब्ल्याङ्केट जिम्मा लगाउनुभयो ।
छोरीसँग प्रत्यक्ष भेट नभएपनि फोन तथा भिडियो कलबाट कुराकानी भइरहेको छ । सरकारले सकुशल नेपाल फर्काएकोमा आमा धनकुमारी औधी खुशी हुनुहुन्छ ।
धनकुमारीले भन्नुभयो, ‘हामी एकदमै टेन्सनमा थियौं, सरकारले कसरी नेपाल ल्याइदेला । तर अहिले हामी एकदमै खुशी छौं ।’ रीनाका आमाबुबा फर्किएलगत्तै चितवनका सागर बस्नेत पनि चीनबाट फर्कनुभएका दिदीका लागि केही सामान बोकेर क्वारेन्टाइन पुग्नुभयो ।
भित्र आफैं गएर दिन पाइन्छ भन्ने सोंचेर त्यहाँ पुगेपनि सुरक्षाकर्मीले भित्र जान दिएनन् । सागरले भन्नुभयो, ‘हामी जान पाइदैन रहेछ, सामान दिएँ अनि आएँ । मल्टीप्लक, नोटबुकहरू ल्याएको थिएँ, लेख्नुपर्छ होला नि त ।’
मुल गेटबाट केही मिटर भित्र छिरेपछि क्वारेन्टाइनको बाहिरपट्टि निषेधित क्षेत्र लेखिएको छ ।
क्वारेन्टाइन बाहिर भेटिनुभयो, चिकित्सक टोलीका प्रमुख नेपाली सेनाका मेजर डाक्टर नवीन फुँयाल । डाक्टर फुँयालले क्वारेन्टाइनमा रहेका सबै एकसय ७५ नेपाली पूर्णरुपले स्वस्थ रहेको बताउनुभयो ।
डाक्टर फुँयालले भन्नुभयो, ‘उहाँहरूको स्वास्थ्य एकदम राम्रो छ । उहाँहरूलाई केही संक्रमण भयो कि भएन भनेर राष्ट्रिय प्रयोशालाबाट पनि पूरा टिम आएर उहाँहरूको घाँटीबाट, नाकबाट नमुना संकलन गरेर लैजानुभएको छ । आजभोलीमा रिपोर्ट पनि आइहाल्छ, आधिकारीक रुपमै ।’
चीनबाट ल्याएका विद्यार्थी खरिपाटीमा राख्ने संघीय सरकारको निर्णयपछि सुरूमा स्थानीय डराएका थिए । तर अहिले अवस्था सामान्य भएको छ ।
चाँगुनारायण नगर कार्यपालिका सदस्य समेत रहनुभएका स्थानीय सर्मिला बयलकोटी सुरुमा संक्रमण भएकै मानिसलाई ल्याउन लागेजस्तो हल्ला भएका कारण स्थानीयमा त्रास बढेको बताउनुहुन्छ ।
दूतावासले नै स्वस्थ मानिसलाई मात्रै पठाउन लागिएको भनेपछि त्यो डर विस्तारै हटेको उहाँको भनाइ छ ।
स्थानीयमा देखिएको मनोवैज्ञानिक त्रास कम गर्न सरकारी टोली खरिपाटी क्षेत्रमा पुगिरहेको छ । सोही क्रममा हिजो स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल पनि खरिपाटीस्थित क्वारेन्टाईन पुग्नुभयो ।
क्वारेन्टाइनको अवलोकनपछि मन्त्री ढकालले भन्नुभयो, ‘अहिलेसम्म हामीले यहाँ आएर चेकजाँच गर्दाखेरि कुनैपनि संक्रमणको प्रभावहरू नदेखिनु त्यो आफैंमा एउटा सरकारात्मक कुरा हो । चाइनामा रहँदा संक्रमण हुने हो कि भन्ने डरले देशमै गएर बसौं भन्ने सोंच र यहाँको स्वस्थ बातावरणले पनि फर्किएकाहरूको मनोबल बढाएको छ ।’
तालिम केन्द्रको दक्षिणतर्फ रहेको क्वारेन्टाइनमा ए, बी र सी ब्लक विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई राखिएको छ ।
यसैबीच, चीनको वुहानबाट ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दालाई सचेत बनाउन घरदैलो अभियान शुरु भएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको टोली घरदैलो अभियानमा खटिएको छ ।
प्रजिअ पाण्डेले स्थानीयको लागि छुट्टै ‘हेल्थ डेक्स’ राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै समस्या देखिए जाँच गराउन सक्नेबारे जानकारी गराउनुभयो ।
चीनको वुहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा संक्रमणको त्रासले स्थानीयले घर छोड्न थालेको र उनीहरू त्रासमा रहेको सुनिएपछि स्थानीयलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापन सहज बनाउन घरदैलो अभियान शुरु गरिएको पाण्डेले सीआईएनसँग बताउनुभयो ।
टोलीले घर घरमा पुगेर क्वारेन्टाइनका नेपाली सुरक्षित रहेको, उनीहरूमा कोरोनाको संक्रमण नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको, मास्क कसरी लगाउने, दैनिक हात कसरी धुने लगायतका बारेमा जानकारी गराएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६, ०७:३८