पर्वत ।
साहसिक पर्यटनमा चर्चा कमाउँदै गएको पर्वतको कालीगण्डकीमा बन्जी मार्फत् पर्यटक बढाउने योजना अघि सारिएको छ ।
नेपालकै अग्ला ६ वटा झोलुङ्गेपुल, केवुलकार, दुर्लुङ क्यानोनिङ लगायतका मानव निर्मित पूर्वाधारले पर्यटक आकर्षित भईरहेका बेला बन्जी मार्फत पर्वतमा पर्यटकको सङ्ख्या बढाउने अपेक्षा गरिएको हो ।
एकातिर कुश्मा बजार, अर्कोतिर बागलुङको बलेवा । बिचमा बग्छ, कालीगण्डकी । दुई जिल्लाको डिल जोड्नेगरी पुल हालिएको छ ।
पुलबाट बन्जीजम्प अर्थात् खुट्टामा डोरीले बाँधेर सुरक्षित तरिकाले ५ सय २५ मिटर तल खोँचमा हामफाल्दा सिन्धुपाल्चोकका राजु कार्कीसँग डर र उत्साह दुवै थियो । बन्जीमा आफूले निकै आनन्दको महसुस गर्न पाएको उहाँले सुनाउनुभयो ।
कालीगण्डकी नदीमाथी पर्वतमा बन्जीजम्पका लागि पुल बनाएर सफल परीक्षण गरिएको छ । सिन्धुपाल्चोकका राजु कार्की र पर्वतका युवा व्यवसायी समेतगरी ११ जनाको लगानीमा विश्वकै नमुना दाबी गरिएको बन्जी सञ्चालनको तयारीमा छ ।
बन्जी जम्प सञ्चालक नेत्र पराजुली सम्पूर्ण काम सकिंन अझै बाँकी रहेको बताउनुहन्छ । लगानीकर्ताहरूले बन्जीसहित स्वीङ, साईक्लिङ, रिसोर्ट लगायतका पूर्वाधारमा करिब २० करोड लगानी गरेका छन् ।
बन्जी जम्पसँगै पर्वतमा साहासिक पर्यटनमा नयाँ आयाम थपिएको यहाँका व्यवसायीले बताएका छन् । बन्जीका लागि आउने पर्यटकलाई लक्षित गरि ३ दिनसम्मको टे«किङ प्याकेज बनाइने भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट ५७ किलोमिटर उत्तरमा पर्ने कुश्मा मुक्तिनाथको प्रवेशद्धार पनि हो ।
उत्तर–दक्षिण छिमेकी मुलुक जोड्न निर्माणाधिन कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग पुर्ण रुपमा सञ्चालनमा आएपछि भारतीय र चिनियाँ पर्यटक बढी आउने पर्यटन प्रर्वद्धन समिति पर्वतका अध्यक्ष मनोहर वि. पौडेल बताउनुहुन्छ ।
बन्जीलाई लक्षित गरि कुश्मामा नयाँ नयाँ होटलहरू खुल्ने क्रम पनि बढेको छ । जिल्लामा ६ वटा नेपालकै अग्ला र लामा पुल, कुश्मा– बलेवा यान्त्रिक पुल समेत पर्यटक आकर्षित गर्ने स्थल हुन् ।
साहसिक पर्यटनका लागि बन्जीजम्प पनि थपिएपछि पर्वतमा पर्यटक बढ्ने र सुस्ताएको कुश्माको व्यापार बढ्ने अपेक्षा गरिएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६, १०:३४