सुशीला वली, रेडियो मध्यपश्चिम, दाङ
कारागार भन्नेबित्तिकै प्रायको साेंचाइ नकारात्मक बन्छ । किनभने अपराधिक क्रियाकलापमा लागेकाहरूलाई त्यहाँ राखिन्छ । तर दाङको घोराहीमा रहेको कारागार शिक्षा आर्जन गर्ने थलोको रुपमा विकास भएको छ ।
घोराही जिल्ला कारागारमा ज्ञान ज्योति विद्यालय सञ्चालनमा आएपछि कारागार शिक्षा आर्जन गर्ने थलो बनेको हो । विद्यालय टिनले बारेको सानो कोठामा छ । क ख रा अङ्कित नेपाली वर्णमाला कच्याककुचुक अवस्थामा भए पनि केही युवा बसेर लेखपढ गर्छन् ।
कैदी रेशमबहादुर बुढाथोकी पढ्न पाउँदा समय कटेको थाहै नहुने बताउनुहुन्छ । बुढाथोकीले भन्नुभयो, ‘भित्र यसरी नै समय कट्छ । सरहरूले पढाउनु भएको छ ।’
कैदी बन्दी मध्येकाले अरूलाई सिकाउँछन् । पढ्दै र पढाउँदै गरेका सबै सजाय काट्न आएका कैदी बन्दी हुन् । विभिन्न समस्याले पढ्न नपाएका र पढ्दापढ्दै बिचमै छाडेकालाई कारागारमा पढ्ने व्यवस्था गरिएको हो ।
जेलर विष्णुप्रसाद पाण्डेका अनुसार अहिले कारागारमा ३ सय ६ जना कैदीबन्दी रहेका छन् । जसमध्ये करिब २५ जनाले अहिले साक्षरता कक्षा लिइरहेका छन् ।
कारागारभित्रै कैदी बन्दीलाई अनौपचारिक शिक्षा दिन विद्यालय चलाउँदा यहाँ रहेका कैदी मध्येबाट प्रमाणपत्रतह उत्तिर्ण गरेका र योग्य व्यक्ति छनोट गरी शिक्षकसमेत नियुक्त गरिन्छ ।
कैदी शिक्षक प्रकाश परियार पढाउन पाउँदा आफूलाई खुशी लागेको बताउनुहुन्छ । यसरी सञ्चालित कक्षाबाट कैदी बन्दीले समयको सदुपयोगसँगै ज्ञान प्राप्त गर्ने अवसर पाएका छन् ।
पढाउने शिक्षकले तलब नपाए पनि वार्षिक दुई महिना कैद मिनाहा गरिदिने व्यवस्था मिलाइएको छ । अक्षर नचिन्नेका लागि अनौपचारिक शिक्षा र शिक्षितलाई अंग्रेजी भाषाको कक्षा समेत चलाइएको अर्का कैदी शिक्षक मनबहादुर नेपाली बताउनुहुन्छ ।
दाङको घोराही कारागारभित्र करिब पाँच प्रतिशत स्नातक तह सम्मको अध्धययन गरेका, ७० प्रतिशत कक्षा सात भन्दामाथि पढेका र बाँकी निरक्षर छन् ।
३० जना कैदी बन्दीले विद्यार्थिका रुपमा नियमित अध्ययन गर्दै आएको कारगार शाखाले जनाएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६, १२:२०