काठमाडौँ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिनुभएको छ । बास्कोटाले आफूबारे प्रश्न उठेकाले पदबाट राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो ।
सेक्युरिटी प्रिन्टर खरिदमा स्विस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रसँग मन्त्री बास्कोटाले ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएको थियो । ञ्चारमन्त्री बास्कोटालर् नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
बास्कोटाले राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर बुझाइसकेको जानकारी दिनुभएको छ । उहाँले कञ्चनपुरबाट फर्किएलगत्तै पदबाट राजीनामा दिनुभएको हो । बाँस्कोटाले कञ्चनपुरमा आयोजित एक कार्यक्रममा आजै आफूले कुनै गल्ती नगरेको भन्दै नखाएको विष नलाग्ने तर्क गर्नुभएको थियो ।
यसअघि बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा जानकारी गराउनुभएको थियो । संसद्को बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मा समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने काँग्रेसको माग छ । काँग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताउनुभएको हो ।
औपचारिक पत्र आउन बाँकी रहे पनि आफूलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको सभामुखले जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६, १८:००