वुटवल । बालविवाह रोक्नका लागि रुपन्देहीका किशोरकिशोर एकजुट हुन थालेका छन् । उनीहरूले रुपन्देहीको दक्षिणी भेगमा चलाएको बालविवाहविरुद्धको अभियानलाई प्रदेश सरकारले पनि साथ दिएको छ ।
किशोरीहरू किशोरी अधिकार मञ्च गठन गरेर घरघरमा पुग्ने गरेका छन् । उनीहरूको उद्धेश्य भनेको धार्मिक मूल्य र मान्यता मिच्न नहुने परम्परागत मान्यता भत्काउनु रहेको रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकाकी सुनिता हरिजनको भनाइ रहेको छ ।
सुनिता जस्तै धेरै बालिकाहरूलाई बालविवाह मन नपरे पनि घरपरिवारका सदस्य र आफन्तको करकापमा परी स्वीकार्नुपर्ने बाध्यता रहेको छ । बालविवाह अन्त्यका लागि किशोरीहरूमा शिक्षाको व्यवस्था गर्नुपर्ने स्थानीय शशीकला यादवले बताउनुभयो ।
रुपन्देहीका गाउँघरमा तुलनात्मक रूपमा धेरै बालविवाह हुने गरेको प्रहरीप्रशासनको तथ्याङ्कले देखाउँछ । बालविवाह हुने दक्षिण एसियाली मुलुक मध्ये नेपाल तेस्रो स्थानमा छ ।
बालविवाहको गलत परम्परा रोक्न र बालबालकालिकाका आवाज निर्णायक तहमा पुर्याउन प्रदेश ५ सरकारले किशोरीहरूलाई बाल अधिकार मञ्च गठनमा साथ दिने प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो ।
बालविवाह कलिलो उमेरमा गरिने विवाह, जबर्जस्ती विवाह तथा अन्य घातक प्रचलनहरूको उन्मूलन गर्ने दिगो विकासका लक्ष्यमा भनिएको छ ।
सन् २०३० सम्ममा पूरा गर्ने भनिएको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारले योजना बनाएर कार्यान्वयनमा ल्याएका भए पनि सोचे जस्तो प्रभावकारी भने हुन नसकेको गुनासो आइरहेका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६, १५:२२