चितवन । बिभिन्न ७ सुत्रीय माग राख्दै आमरण अनशनमा बस्नुभएका चितवनको माडी नगरपालिका १ का अध्यक्ष कृष्णप्रसाद पौडेलले आफ्ना माग पूरा नहुँदासम्म अनशन नछोड्ने बताउनुभएको छ ।
पौडेल वडा नम्बर १ को कार्यालय परिसरमा अनशनमा बसेको आज ५ दिन पूरा भएको छ । उहाँलाई भेट्न आज चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पुग्नुभएको थियो ।
शर्माले अनशन तोड्न र भरतपुरमा गएर चिकित्सकको निगरानीमा रहन गरेको आग्रह अस्वीकार गर्दै वडाअध्यक्ष पौडेलले आफ्ना माग पूरा नभएसम्म कतै पनि नजाने जानकारी गराउनुभयो ।
सीआईएनसँगको कुराकानीमा वडाअध्यक्ष पौडेलले आफ्नो अनशन र मागका सम्बन्धमा सरोकारवाला कसैले पनि चासो नदिनु दुखद् भएको बताउनुभयो ।
आफ्ना मागहरू सङ्घीय सरकारले पूरा गर्नुपर्ने उल्लेख गर्दै उहाँले माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नै चारपटकसम्म आफै अनशन बस्ने भने पनि नबसेका कारण आफूले नगरपालिकाको नेतृत्व गर्दै अनशन बसेको बताउनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०७६ ले माडी क्षेत्रलाई सम्वोधन गर्न नसकेकाले फेरि संसोधन गर्नुपर्ने, बाँदरझुला, अमेलियालगायत क्षेत्रका भूमिहीन, सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने, मावन–वन्यजन्तु द्वन्द्व निवारणका लागि वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, उत्तरी रिउ खोला करिडोरको निर्माण व्यवस्थित हुनुपर्ने माग वडाअध्यक्ष पौडेलले राख्नुभएको छ ।
लागत तथा उत्पादनका आधारमा बालीको क्षतिपूर्ति दिनुपर्ने, कसरादेखि वनकट्टा, वगहीदेखि बाँदरझुलासम्मको बाटो स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गर्नुपर्ने, माडी नगरपालिकालाई कृषि पर्यटनको हबका रूपमा विकास गर्न योजना बनाउनुपर्ने, प्राकृतिक स्रोतसाधनमा पूर्ण रूपमा स्थानीय निकायको अधिकार हुनुपर्ने माग पनि उहाँको छ ।
अध्यक्ष पौडेलका मागहरुः
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६, १७:२७