गुल्मी । अझैँ पनि हाम्रो समाजमा जातीय भेदभाव हट्न सकेको छैन् । तल्लो जात र उपल्लो जात भनेर हुने विभेदले समाजमा विभिन्न घटना सार्वजनिक हुने गरेका छन् । सरकारले जातीय विभेद गर्नेलाई दण्डको व्यवस्था गरे पनि पूर्ण रुपमा कार्यान्वयनमा भने आउन सकेको छैन् ।
घटना गुल्मीको मुसिकोट नगरपालिका ५ अमलाबोटको हो । स्थानीय २२ वर्षीय विपना सावतलाई उहाँका श्रीमानले दलित भनेर छाडिदिएका छन् । प्रेम विवाह गरेको भए पनि परिवार र समाजले विभिन्न लाञ्छना लगाउन थालेपछि अहिले विपनाका श्रीमानले पनि विभिन्न लाञ्छना लगाउँदै छाडेका छन् ।
रुपन्देहीको भैरहवा स्थित अर्घाखाँची सिमेन्ट कारखानामा काम गर्ने क्रममा प्रेम सम्बन्धमा परेपछि विपनाले मालिका गाउँपालिका पुर्कोटका राजु कुँवरसँग २०७५ साल फागुन १८ गते भागेर विवाह गर्नुभएको थियो ।
प्रेम सम्बन्धमा रहँदा विभिन्न प्रलोभन देखाएर ललाईफकाई विवाह गरेर केही समय सँगै राखे पनि आफू गर्भवती भएपछि विस्तारै राजुले कुटपिट गर्ने र दलित भनेर हेला गर्न थालेको विपनाले बताउनुभयो ।
विहेपछि विपना र राजु १ महिना सोही कम्पनीमा झण्डै १ महिना बसे पनि त्यसपछि भने दुवैजना राजुको मावली गुल्मीको पुर्कोटमा फर्किनुभयो । तर मावलीमा पनि दलित जातकी केटी भन्ने थाहा पाएपछि अवहेलना गर्न थाले ।
१ महिना जति मावलीमा बसेपछि पुनः भैरहवामा नै फर्किएर सोही कम्पनीमै काम गर्न सुरु गरे । विपना गर्भवती भईसकेपछि भने श्रीमान राजुले पनि दिनरात कुटपिट गर्दै विभिन्न आरोप लगाउन थाले ।
विपना गर्भमा ६ महिनाको बच्चा बोकेर माईतीमा आएपछि पनि राजुले ३ महिनासम्म फोनमा विभिन्न गालीगलौज गर्ने र यातना दिन भने छाडेनन् । त्यसपछि भने उनी सम्पर्कवीहिन बने । अहिले पतिले छाडेर हिँडेपछि विपनाको बिचल्ली भएको छ । पति बेपत्ता छन् । विपनाले मसिंर २३ गते छोरी जन्माउनुभयो ।
मुसिकोट नगरपालिकामा नगरप्रमुख सोमनाथ सापकोटाले उक्त घटना आफूले थाहा पाएको र विपनालाई न्याय दिलाउने बताउनुभयो । सुत्केरी हुँदा नगरपालिकाले दिने सेवासुविधा दिएको भन्दै उहाँले राजुको श्रीमानको खोजी भईरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६