आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो देशका विभिन्न ठाउँमा भारी हिमपात भएपनि आज त्यो सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।
हिजो हिमपात गराउने मौसमप्रणाली नेपालबाट गइसकेकाले आज मौसम सफा रहने भएको उहाँले बताउनुभयो ।
भोली देशको पश्चिमी क्षेत्रको धेरैजसो भागमा मौसम बदली हुने उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा भने भोली हिमपात हुने छ ।
त्यसको प्रभाव पर्सी मध्य क्षेत्रमा पनि पर्नेछ । आइतबार मध्य र पूर्वका केही क्षेत्रमा वर्षासँगै उच्च पहाडी क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएको छ । हिजो हिउँले घेरिएको काठमाडौंमा आज बिहानैदेखि घाम लागेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५, ०९:१३