कार्यक्रमको सुरुवात धादिङ जिल्लाको गल्छी गाउँपालिका भित्रका ३८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १६ बर्ष मुनिका विद्यार्थीबाट गरिने दृष्टि आइ केयर सिस्टमका कार्यकारी प्रमुख डा. भाइराजा श्रेष्ठले जानकारी दिनुभयो ।
काठमान्डु । दृष्टि आइ केयर सिस्टमले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निःशुल्क आँखा परीक्षण एवम् चश्मा सहयोग कार्यक्रमको घोषणा गरेको छ । जायसको सहयोगमा दृष्टि आई केयर सिस्टम र आलोका भिजन कार्यक्रमसँगको साझेदारीमा विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिने छ ।
कार्यक्रमको सुरुवात धादिङ जिल्लाको गल्छी गाउँपालिका भित्रका ३८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १६ बर्ष मुनिका विद्यार्थीबाट गरिने दृष्टि आइ केयर सिस्टमका कार्यकारी प्रमुख डा. भाइराजा श्रेष्ठले जानकारी दिनुभयो । निःशुल्क आँखा परीक्षण गरी चश्मा प्रयोग गर्नुपर्ने विद्यार्थीहरुका निम्ति निःशुल्क रुपमा चश्मा उपलब्ध गराइने श्रेष्ठले बताउनुभयो ।
आँखा परीक्षणको पहुँचबाट बञ्चित सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सेवा दिनुका साथै आर्थिक अभावले चश्मा प्रयोग गर्ने अवसरबाट बञ्चित विद्यार्थीहरुलाई निःशुल्क चश्मा उपलब्ध गराइ बाल अन्धोपन निवारण गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले बताउनु भयो ।
आलोका भिजन कार्यक्रमका प्रमुख डा.प्रेम जीतले दृष्टि आइ केयरसँगको साझेदारीमा निःशुल्क आँखा परीक्षण र चश्मा सहयोग कार्यक्रम मार्फत विद्यार्थीहरुको आँखासम्बन्धी समस्याको समाधान गरी उनीहरुको शिक्षा हासिल गर्ने अभियानमा मद्दत गरिने बताउनु भयो । आलोका भिजन कार्यक्रम मार्फत विद्यार्थीका साथै समुदायलाई समेत लक्षित गरी अत्यन्त सहुलियत मूल्यमा चश्मा उपलब्ध गराईने प्रेमजितले जानकारी गराउनु भयो ।
गल्छि गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले मोवाइल, कम्प्युटर एवं टेलिभिजन लगाएतका डिभाइसको अत्यधिक प्रयोगले बालबालिकाको आँखामा प्रतिकूल असर परिरहेको अवस्थामा निःशुल्क आँखा परीक्षण एवं चश्मा वितरण कार्यक्रम सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका निम्ति ठूलो राहत हुने बताउनु भयो ।
पाइलट कार्यक्रमको रुपमा गल्छी गाउँपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीकहरुलाई लक्षित गरीए पनि भविष्यमा जायसको सहयोगमा देशभरीका सामुदायिक विद्यालयमा अध्ययनरत १६ बर्ष मुनिका विद्यार्थीहरुका लागि नै निःशुल्क आँखा परीक्षण र चश्मा वितरण कार्यक्रम अघि बढाइने दृष्टि आइ केयर सिस्टमका कार्यकारी प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो ।
आँखामा ठूलो समस्या नपरीकन आँखा परीक्षण नगर्ने प्रबृत्तिले गर्दा बालअन्धोपन बढ्दै गएको र यस कार्यक्रमले सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अनिवार्य आँखा परीक्षणले विद्यार्थीहरु लाभान्वीत हुने दृष्टि विशेषज्ञ अशेष आचार्यले बताउनुभयो ।
दृष्टि आई केयरले पाँच बर्ष मुनिका बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्दै आएको । नीजि क्षेत्रबाट सञ्चालित दृष्टिले झापा, विरगन्ज, धादिङको गल्छी, नुवाकोट र काठमाण्डौको कलंकी,बानेश्वर,चाबहिलका साथै जमलबाट समेत सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६, १८:३९