काठमाडौं । राष्ट्रिय बहसमा तानिएका तीनवटा महत्वपूर्ण एजेण्डामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छलफल गर्दैछ । आज बस्ने नेकपाको सचिवालय बैठकमा एमसीसी, संविधान संसोधन र निवर्तमान सञ्चारमन्त्रीको घुस मागिएको अडियो टेप प्रकरणका विषयमा छलफल हुनेछ ।
विहान ११ बजे बस्ने बैठकमा पार्टीभित्र देखिएको आन्तरिक विवाद, पार्टीले चलाउने अभियानका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बस्ने बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) सम्झौता र पूर्वमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन बार्गेनिङ’ प्रकरणमा छलफल हुने नेकपाको सचिवालयले जनाएको छ ।
यस्तै बामदेव गौतमको इच्छाबमोजिम राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्न कार्यदल घोषणापछि भएको नेकपाको आलोचनाका बिषयमा पनि बैठकमा छलफल एवं समिक्षा हुनेछ ।
बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यदलले दिएको एमसीसीको पूर्ण अध्ययन गरिसकेकाले त्यसबारे आफ्नो धारणा राख्नेछन । गत फागुन ९ गते झलनाथ खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यादलले करिब २० दिन लगाएर एमसीसीको निष्कर्षसहित प्रतिवेदन मस्यौदा तयार पारेर बुझाएको थियो ।
त्यो प्रतिवेदनमाथि छलफल गरेर पार्टीले आज आधिकारीक धारणा बनाउने प्रयास गर्नेछ । आजो बैठकमा पार्टीले चलाउने अभियानका विषयमा पनि छलफल हुनेछ । पार्टीले चलाउने विशेष अभियानमार्फत तल्ला तहका कार्यकर्ता कहाँ पुग्ने योजनासँगै नेकपाले पार्टी सदस्यताका लागि ११ बुँदे कार्यक्रम बनाइसकेको छ ।
कार्यक्रममा सदस्यता नवीकरणदेखि तल्ला तहका कमिटी निर्माणसम्म र प्रशिक्षणदेखि आचारसंहिता लागूसम्म छन् । नेकपाले अहिले पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान सुरु गरेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६, ०८:४४