काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण दक्षिण कोरियामा पनि देखिएपछि त्यहाँ रहेका नेपालीहरू त्रसित भएका छन् ।
कोरोनाका कारण दक्षिण कोरियामा मात्रै हालसम्म ४ जनाभन्दा धेरैको मृत्यु भएको छ भने ५ सय भन्दा धेरै नागरिकमा सङ्क्रमण देखिएको छ । कोरियाका विभिन्न सहरमा कोरोना प्रभावित बिरामी बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरूमा त्रास बढेको हो ।
कोरियाका अधिकांश मुख्य सहरमा नेपाली कामदार र विद्यार्थीहरू छन् । कोरियाको सियोलस्थित नेपाली दूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित भएको छ । थेगुमा करिब १ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।
थेगु नजिकैको सहर खेङ्जुमा रहनुभएका अमिर कार्कीले त्यहाँ कोरोना देखिएपछि नेपालीहरूले सरकारले जतिबेला पनि आफूहरूलाई उद्धार गर्नुपर्नेमा जोड दिएको बताउनुभयो ।
थेगु आसपासका क्षेत्रका कम्पनीहरूले कामदारलाई बाहिर जान रोकेका छन् । त्यहाँका बजारहरू सुनसान बनेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट झण्डै २ हजार ५ सय मानिसको मृत्यु भएको छ भने ८० हजार मानिस संक्रमित छन् ।
अहिले कोरोना प्रभावित सहरमा कोरिया सरकारले नागरिकलाई भीडभाडमा ननिस्कन भनेर सूचना जारी गरिरहेको छ । सञ्चारमाध्यमार्फत सरकारले बाहिर नजान, मास्क अनिवार्य प्रयोग गर्न, सरसफाइमा ध्यान दिन आह्वान गर्दै सूचना र विज्ञापनहरु बजाइरहेका छन् । त्यसैले सार्वजनिक स्थानहरू सुनसान बन्दै गएका छन् ।
नेपाली दूतावासले पनि कामदारलाई सुरक्षित रहन र स्वस्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ । कसैलाई स्वास्थ्यमा समस्या आए तुरुन्तै त्यहाँको हटलाइन १३३९मा फोन गर्न आह्वान गरिएको छ । तर पनि नेपालीहरू भने कोरोनाको सङ्क्रमण भए के गर्ने, कसो गर्ने भन्ने अन्योलमा छन् ।
नेपाली दूतावासले फेसबुकमा कोरोनाबारे सचेतना दिने समूह पनि बनाएर सन्देश प्रावाहित गर्न थालेको छ । कोरियामा हाल लगभग ४४ हजार नेपालीको बसोबास छ । त्यसमध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेकाहरू छन् भने विद्यार्थीसहित अन्य विभिन्न प्रक्रियाबाट त्यहाँ पुगेकाहरु पनि छन् ।
थेगु आसपासका क्षेत्रका कम्पनीहरूले कामदारलाई बाहिर जान रोकेका छन् । त्यहाँका बजारहरू सुनसान बनेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट झण्डै २ हजार ५ सय मानिसको मृत्यु भएको छ भने ८० हजार मानिस संक्रमित छन् ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६, १३:१६