काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । टुँडिखेलमा बिहानैदेखि श्रछाञ्जलि दिनेहरुके भीड लागेको छ । अधिकारीसहितका मृतकलाई राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायतले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन् ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई श्रद्धाञ्जलिका लागि अहिले टुँडिखेलमामा राखिएको छ । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाउनुभयो ।
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको श्रद्धाञ्जलि अर्पण गर्नुभयो । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टीको झण्डा समेत ओढाउनु भएको थियो । दिवङ्गत मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । अहिले टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ ।
श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ भने मन्त्री अधिकारीको शव अन्त्येष्टिका लागि गृह जिल्ला कास्की लगिनेछ । पर्यटनमन्त्री अधिकारीकी पत्नी विद्या भट्टराई विछिप्त अवस्थामा टुँडिखेल पुगेकी छन् । शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न कठिन देखिन्थ्यो ।
हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५, ११:१५