सरकारको नारा छ, बिहेबारी : २० बर्ष पारी । तर, कर्णाली प्रदेशमा त्यसको ठीक उल्टो देखिन्छ, बिहेबारी : २० वर्ष वारी । जतिले विवाह गर्छन्, त्यसको आधाभन्दा बढिले उमेर नपुग्दै विवाहको साइनो जोड्छन् । बालविवाहको त्यही उल्टो तथ्याङ्क केलाउँदै पहाडी जिल्ला कालिकोटका बालिकाहरू भने बिहे रोक्न बाल कचहरीको सहारा खोजिरहेका छन् ।
त्यो कचहरी र यो कचहरी
कालिकोटको सदमुकाम मान्माबाट करिब ४ घण्टा हिडेपछि पुगिने शुभकालिका गाउँपालिको एउटा स्कूल मैदानमा कचहरी बसिरहेको थियो ।
साना उमेर समूहका मान्छेले छलफल चलाइरहेका थिए । पाका मान्छेहरू टाउको हल्लाउँदै छलफल सुनिरहेका थिए । कर्णाली प्रदेशमा मुख्य समस्याका रुपमा देखिएको ‘बालविवाह’ कचहरीको छलफलको विषय थियो ।
कालिकोटमा किशोरीहरूले वडा वडामा बालकचहरी गर्छन् । आफ्नै उमेर समूहका साथीको विवाहको कुरा उठाउँछन् । रोक्न के गर्ने ? शिक्षक, अविभावक अनि घरदैलोको सरकारलाई प्रश्न सोधिरहन्छन् ।
पञ्च भलाद्मी बसेर सामूहिक निर्णय गर्ने कर्णालीको पुरानो चलन हो, कचहरी । अहिले त्यही कचहरीमा बसेर बालबालिकाले आफ्ना अधिकारका बारेमा छलफल गर्छन् । गाउँका भद्रभलाद्मीले सुन्ने गर्छन् ।
त्यो कचहरी र यो कचहरी कस्तो लाग्छ ? मान्मा बजारमा उकालो चढ्दै गरेका ६८ वर्षका कालिबहादुर मल्ललाई ओरालो झर्दै गर्दा मैले सोधें ।
कर्णाली प्रदेशको सबैभन्दा कम डोल्पामा र सबैभन्दा बढी रुकुम पश्चिममा बालविवाह हुने गरेको छ ।
मल्लले सुनाउनुभयो, ‘म केटाकेटी नै थिएँ, थाहा थिएन । ९ वर्षमा मेरो विवाह गरेको । बुढाबुढीले, हो अब अवस्था, हिजो त हामीले ९/११ वर्षमा विवाह गर्या हौं, अहिले त १८ वर्ष उमेर पुगिसक्यो । यो उमेरमा त हाम्रो ३÷४ वर्षको बच्चा थियो भन्नेहरूलाई पनि म उमेर पुगेपछि मात्रै विवाह गर्छु भन्न थालेका छन् । आफैं भन्न थाले ।’
भर्खर १५/१७ टेक्दै गरेको तेस्रो पुस्ताले कचहरीमा उठाएको सवालमा ढल्किदै गरेको पहिलो पुस्ता खुशी देखिन्छ । तर, सुर्खेतमा बसेर सिङ्गो कर्णालीको बालबिवाहको उमेर समुह केलाइरहनु भएका सेभ द चिल्ड्रेनका बाल संरक्षक ब्यवस्थापक विज्ञ दिल ऐरलाई सुनेपछि थाहाभयो, बालविवाहको पीडाले सिङ्गो कर्णाली भने दुःखी छ ।
ऐरले भन्नुभयो, ‘गैर कानुनी विवाहको हेर्ने हो भने ५२ प्रतिशत देखिन्छ । हरेक दुईजना बालबालिकामा एकजनाको विवाह गैरकानुनी तरिकाले भइरहेको छ ।
उहाँका अनुसार सेभ द चिल्ड्रेनले कालिकोट, दैलेख, जाजरकोटमा बालविवाह हुनुको कारण केलाइरहेको छ ।
‘बालविवाहको घटना हेर्नेहो भने आफै विवाह गर्नेको संख्या ९६ प्रतिशत छ ’ उहाँले भन्नुभयो, ‘ घरमा आमा बुवाले माया नगर्ने सामाजिक सञ्जालमा कसैले माया गर्दा यही पो रहेछकी क्याहो माया गर्ने भनेर जालमा पर्ने गरेको, साथीहरुबीचमा नै विवाहको अस्वस्थ प्रतिस्पर्धाले पनि बालविवाह भइरहको छ । १५ बर्षदेखि १८ बर्षको उमेर समुहमा हुने बालविवाह भयाबह छ ।’
तीन जिल्लाका ६ वटा पालिका हेर्दा एक बर्षमा १ हजार १ सय ८१ विवाह भएकोमा ३ सय ११ बालविवाह भएका थिए । ऐरका अनुसार सम्पूर्ण हिसावले हेर्नेहो भने कर्णालीमा ५२ प्रतिशत बालविवाह भइरहेको छ ।
डरलाग्दो तथ्यांक
बालविवाहको उमेरसमूह हेर्दा, खासगरी १५ देखि १८ वर्ष उमेर समूह बढी देखिन्छ । तर १३/१४ वर्षको उमेरमा हुने विवाहको तथ्यांक पनि एकदमै डरलाग्दो छ ।’
९६ प्रतिशत बालबालिकाकाले आफैं विवाह गर्ने गरेको अध्ययनले देखाएको उहाँको भनाइ छ । बालविवाहको कारण खोतल्दै जाँदा मोबाइल, घर परिवारमा आमाबुवाको पर्याप्त माया नपाउनु जस्ता कारण देखिएको ऐर बताउनुहुन्छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये मानव विकास सूचकांकका आधारमा चौथो स्थानमा रहेको जुम्लामा बालविवाहकै कारण १९ वर्षमुनिका ३३ प्रतिशत बालिका गर्भवती हुने गरेको पाइएको छ ।
तीन बर्षको तथ्याङ्क केलाउँदा कर्णालीका १० वटै जिल्लामा २ लाखभन्दा बढीले उमेर नपुग्दै बिवाह गरेका छन् । ती मध्ये ४० हजार नौ सय ६१ किशोरी २० वर्ष नपुग्दै गर्भवती भए ।
कर्णाली प्रदेशको सबैभन्दा कम डोल्पामा र सबैभन्दा बढी रुकुम पश्चिममा बालविवाह हुने गरेको छ ।
सबैभन्दा बढी बालविवाह रुकुम पश्चिममा हुने गरेको छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार रुकुममा ७१.६ प्रतिशत, सल्यानमा ६९.८८ प्रतिशत, सुर्खेतमा ६८.८२ प्रतिशत, दैलेखमा ७०.६६ प्रतिशत बालविवाह हुने गरेको छ ।
जाजरकोटमा ६५.८६, डोल्पामा ४९.९५ प्रतिशत, जुम्लामा ६९.७६ प्रतिशत, कालिकोटमा ५९.१७, मुगुमा ५७.३९ र हुम्लामा ५२.३८ प्रतिशत बालविवाह हुने गरेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
प्रतिवेदन अनुसार १० वर्षमुनि विवाह गर्नेको संख्याभन्दा १० देखि १४ वर्षका उमेर समूहको धेरै छ भने सबैभन्दा बढी १५ देखि १९ वर्षसम्मका बालबालिकाले बालविवाह गर्ने गरेको उल्लेख छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये मानव विकास सूचकांकका आधारमा चौथो स्थानमा रहेको जुम्लामा बालविवाहकै कारण १९ वर्षमुनिका ३३ प्रतिशत बालिका गर्भवती हुने गरेको पाइएको छ । यसले उनीहरूको स्वास्थ्य र शिक्षामा मुख्य असर पारेको छ भने कतिपय बालिकाको गर्भावस्थामै मृत्युसमेत हुने गरेको छ ।
जवाफ खोज्दै किशोरी
कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएको अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ । कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा कम उमेरमा बच्चा जन्माउने प्रवृत्ति अन्त्य हुन सकेको छैन ।
प्रदेश सरकारले बालविवाह रोक्न ‘बैंक खाता छोरीको, सहारा जीवनभरीको’ भन्ने कार्यक्रमलाई कर्णालीका हरेक घर र नयाँ जन्मिने छोरीसँग जोडेको छ ।
तर, अभाव, अशिक्षा र गरिबीका साङ्ला तोडेर बालविवाहको समस्या कसरी कर्णाली तराउने ? प्रदेश सरकार नजन्मिदै जन्मिएका, कचहरीमा प्रश्न गर्ने छोरीहरूले भने उत्तर पाउन सकेका छैनन् ।
अडियोे सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६, १२:४२